काठमाडौं । देश अब अन्योलमा नभएको नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले बताएका छन् । सरकार र प्रधानमन्त्री सुशीला कार्कीलाई उद्योग वाणिज्य महासंघद्वारा आयोजित कार्यक्रममा धन्यवाद दिँदै प्रचण्डले देश अब अन्योलमा छैन भन्ने लागेको बताए ।
प्रचण्डले भने-‘तपाईंहरुलाई निकै अप्ठ्यारो भएको महसुस हामीले गर्थ्यौं/ गरेका छौं, धेरै खाल्का चुनौतीहरु जटिलताहरु समस्याहरु झेल्दै निर्वाचन नै हो देशको निकास सहज वातावरण बनाउने अर्को होइन भनेर जो दृढता तपाईंहरुले प्रदर्शन गर्नुभयो, अब सबै राजनीतिक दल र आम जनता पनि निर्वाचनको मानसिकतामा अगाडि बढ्ने वातावरण बनाउनु भयो त्यसका लागि विशेष रुपले सरकार र त्यसको नेतृत्व धन्यवादको पात्र भएको मैले महसुस गर्दछु ।’
नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको शान्ति, स्थायित्व र समृद्विका लागि सहकार्य विषयक सर्वपक्षीय राष्ट्रिय संवाद कार्यक्रममा प्रचण्डले देश असहज असाधारण परिस्थितिबाट गुज्रेको बताए । उनले भने- ‘राष्ट्रको अगाडि विरलै आउने गर्छ त्यस्तै संकट देखा पर्यो । हामीले यो संकटको समाधान गर्ने हो भनेको राष्ट्रिय राजनीतिक या सर्वपक्षीय सहमति नै हो ।’
प्रचण्डले चुनावमा गए पनि सहमतिमै जानुपर्ने र अन्य कुनै विकल्पको बारेमा सोच्ने हो भने पनि राष्ट्रिय राजनीतिक सहमतिबाट नै जानुपर्छ उल्लेख गरे । उनले भने, ‘सरकार राजनीतिक दल नागरिक समाज र निजी क्षेत्रका सबै प्रतिनिधिहरु मिडियाकर्मी सबै एकैठाउँ बसेर सर्वपक्षीय सहमतिद्वारा अगाडि बढ्ने संकल्प गर्ने वातावरण बनाउनु भएको मैले महसुस गरेको छु ।’
निजी क्षेत्रलाई संरक्षण नगरे समृद्धिको कुरामात्रै हुन्छ
प्रचण्डले निजी क्षेत्रलाई संरक्षण नगरे विकास र समृद्धिको कुरामात्रै हुने बताए । उनले निजी क्षेत्रलाई हेर्ने सोचमा दृष्टिकोणको कमी भएको उनले बताए ।
‘पटक-पटक निजी क्षेत्रको संरक्षण, निजी क्षेत्रलाई संरक्षण गरिएन, प्रोत्साहित गरिएन, लगानीमैत्री वातावरण बनाइएन भने विकास र समृद्धिको कुरा कुरा मात्रै हुन्छ । हाम्रो राज्य संरचना, हाम्रा सोचहरुमा कहीँ न कहीँ निजी क्षेत्र प्रति हेर्ने दृष्टिकोणमा कमी छ ।’
उनले त्यसलाई करेक्सन गर्नुपर्ने बताए । प्रचण्डले संविधान बनाउँदा निजी क्षेत्र, सार्वजनिक क्षेत्र र सहकारीको क्षेत्रलाई समेटेर नेपाली मोडलको आर्थिक विकास गर्ने भन्ने एउटा प्रतिबद्धता लेखे पनि व्यवहारमा कार्यान्वयन गर्न नसकेको बताए ।
‘यो ऐतिहासिक समय हो, हामी सबैले आफ्नो आत्म-समीक्षा गर्ने, आफैलाई राष्ट्र र जनताको निम्ति फेरि एकचोटि समर्पित रुपले काम गर्न संकल्प गर्ने यो समय हो,’ प्रचण्डले भने, ‘आजको दिन शान्ति, स्थायित्व र समृद्धिको कुरा मेरो विचारमा स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्नु, नयाँ जनादेश प्राप्त गर्नु र त्यो मार्फत संविधानमा र हाम्रा कानुनमा रहेका थुप्रै सीमा र कमीहरुलाई संविधान संशोधन मार्फत अगाडि बढ्ने संकल्प गर्नु नै आजको सबै कुराको चुरो हो ।’