काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको १५औँ महाधिवेशनमा उपसभापति पूर्णबहादुर खड्कालाई साथ दिने दोहोर्याएका छन् ।
उनले १५औँ महाधिवेशनमा कार्यवहाक सभापति खड्कालाई साथ दिने बताउँदै आएका हुन् । देउवाले पार्टी उपसभापतिसमेत रही कार्यवाहक चलाइरहेको बताउँदै खड्कालाई आफ्नो साथ हुने उनको भनाइ थियो ।
मंगलबार पत्रकारको चासोमा उनले भनेका थिए, ‘मैले पूर्णबहादुरलाई सहयोग गर्छु, अरूलाई पनि भन्ने गरेकै छु, उपसभापति हो, अहिले कार्यवाहक पनि उसैले चलाइरहेको छ ।’ यस क्रममा उनले आफू सभापति बन्न नमिल्ने बताउँदै सभापति हुनेले आवश्यक सल्लाह मागे दिने बताए ।
यस क्रममा उनले नेता डा। शेखर कोइराला र महामन्त्री गगन थापा सभापतिको उम्मेदवार बन्ने जानकारी पाएको बताएका थिए । उनले भने, ‘शेखरले त अहिलेसम्म म सभापतिको उम्मेदवार हुँदै छु, सहयोग गर्नुस् भन्नु भएको छैन, बाहिर सुनेको छु ।’
सभापति देउवाले आफ्नो साथ माग्न महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासमेत आएको खुलासा गरे । उनले भने, ‘गगन र विश्व चाहिँ आउनु भएको थियो, मैले अहिले पूर्णबहादुरलाई सहयोग गर्छु भनेँ ।’
कांग्रेसभित्र १५औँ महाधिवेशनको विषयलाई लिएर चर्को विवाद भइरहेको छ । एक पक्षले नियमित वा विशेष महाधिवेशन गराउनुपर्ने दबाब दिँदै आएको छ । संस्थापन पक्षले महाधिवेशन सार्ने गरी रणनीति बनाउँदै आएको छ ।