काठमाडौंं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौँ महानगर मेयर बालेन्द्र (बालेन) शाहबीच आइतबार बिहान सात बुँदे सम्झौता भयो । नयाँ र वैकल्पिक शक्ति एक ठाउँमा हुने रटान लगाएका रवि-बालेनले उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङलाई छुटाएका छन् ।
पछिल्लो समय बालेन, रवि र कुलमान मिलेर जाने चर्चाले व्यापकता पाइरहेको र यसका लागि तीनै जनाले संवाद अघि बढाइरहेका बेला आइतबारको सम्झौतामा कुलमान नदेखिनुले यो एकतामा उनी कहाँ छुटे भन्ने प्रश्न उठेको छ ।
कुलमान शनिबार साँझसम्म पनि रवि र बालेनसँग तारन्तार वार्ता र संवादमा थिए । बालेन र कुलमानबीच भेटवार्ता भएको थियो। राति अबेरसम्म उनीहरूको कुराकानी जारी थियो। कुलमानसँगको भेटवार्तापछि राति साढे ११ बजेतिर रवि र बालेन निर्णायक वार्तामा बसेका हुन् । त्यही निर्णायक वार्ताले बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने गरी सात बुँदे सम्झौताको खाका कोरेको हो ।
बालेनले कुलमानलाई पार्टीमा तेस्रो वरीयतामा रहने गरी एकता प्रक्रियामा सहभागी हुन आग्रह गरेका थिए। कुलमान भने यसमा सहमत थिएनन्। उनी पनि बालेन जस्तै प्रधानमन्त्रीकै आकाङ्क्षी थिए। कुलमानले आफू सरकारमा वरिष्ठ मन्त्री भइसकेको, उज्यालो नेपाल पार्टीले एउटा संरचनागत स्वरूप ग्रहण गरेको र उमेरका हिसाबले पनि आफू प्रधानमन्त्रीको उम्मेदवार बन्नुपर्ने कुरा बालनसँगको भेटमा बताएका थिए।
बालेनको भने आफू प्रधानमन्त्रीको उम्मेदवार हुनुपर्ने एक सूत्रीय माग थियो। उनले पाँच वर्षसम्म आफूलाई प्रधानमन्त्री चलाउन दिनुपर्ने माग गर्दै आएका थिए। त्यसैले उज्यालो नेपाल पार्टीले संरचनागत स्वरूप ग्रहण गरिसकेकाले आफू प्रधानमन्त्रीको हकदार हुँ भन्ने कुलमानको तर्कसँग पनि उनी सहमत भएनन्।

बालेनले शनिवार रातिसम्म कुलमानलाई समेटेर अघि बढ्न रविलाई आग्रह गरेका थिए। स्रोतका अनुसार उनले रविलाई भनेका थिए, ‘कुलमान जीलाई समेटेर लैजानुपर्छ। तपाई कुरा गर्नुस्।’ रविले बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बन्न आग्रह गर्नुअघि नै कुलमानलाई रास्वपातर्फबाट प्रधानमन्त्री बन्न प्रस्ताव गएको जवाफ दिएका थिए।
‘हामीले कालमानजीसँग कुरा गरिराखेका थियौँ। तपाईँसँग प्रधानमन्त्रीको उम्मेदवार बन्ने र एउटै पार्टीबाट अघि बढ्ने कुरा हुनुभन्दा तीन साताअघि नै यो प्रस्ताव गरेका थियौँ,’ लामिछानेले बालेनलाई जबाफ दिए, उहाँले मान्नुभएन।’ तर बालेनले त्यति बेला भन्दा अहिले कुलमान लचिलो भएको उल्लेख गर्दै सह सभापति दिँदा मान्ने बताएका थिए। तर रविले उनलाई सह सभापति पनि दिन नसकिने बताए।
‘सह सभापति दिन सकिँदैन। पार्टीमा दुई जना उपसभापति पनि हुनुहुन्छ’, रविले बालेनलाई जबाफ दिए,’ दुई जना सभापति बनाउने र सह सभापति बनाएर जान सकिँदैन। तर, उपसभापति बनाएर जान सकिन्छ।’ त्यसपछि रविले उपसभापति डोलप्रसाद अर्याल र स्वर्णिम वाग्लेलाई पनि वार्तामा बोलाएका थिए । तर, बालेनसँग छलफलपछि बाहिरिएका कुलमान सम्पर्कमा आएनन् । कुलमानले फोन नउठाएपछि बालेनले नै सहमति गरेर अघि बढ्न र कुलमानसँग पछि कुरा गर्न उपयुक्त हुने बताए । दुईबीच सहमतिमा हस्ताक्षर भएको थियो ।
रवि-बालेन सहमतिले पुराना पार्टी नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टीका नेताहरू नराम्रोसँग झस्किएका छन् । ती पुराना पार्टीले सामाजिक सञ्जालबाटै रवि-बालेनको सहमतिलाई प्रतिवाद गरेका छन् । उता कुलमान छुटेको जेनजी फ्रन्टकी नेतृ रक्षा बमले आफ्नो भावना नसमेटेको भन्दै आक्रोश पोखेकी छन् । रवि र बालेन बिच सत्ता सोझदारीसँगै पावर सेयरिङमा सहमति भए पनि खास जेनजीको माग नसुनिएको उनको भनाइ छ । यस्तै कुलमानलाई नयाँ भनिएका पार्टीले नसमेटिएको असन्तुष्टि पोखेका छन् । तर, उज्यालो पार्टीका नेताहरूले रवि-बालेनबीच सहमति भए पनि सहमति र सहकार्यका लागि ढोका खेला रहेको प्रतिक्रिया दिएका छन् ।
रवि-जेलमा हुँदा रास्वपाले कुलमानले राम्रै प्राथमिकता पाएका थिए । रास्वपाले प्रधानमन्त्रीको उम्मेदवार बनाएर एउटै पार्टीमा आउन आग्रहसमेत गरेको थियो । त्यसमा कुलमानले पार्टीमा समेत महत्त्वपूर्ण भूमिकासँगै प्रधानमन्त्री पदको समेत आकांक्षा राखेपछि आशामा तुसारापात भएको हो । कुलमानको प्रधानमन्त्री पद बालेनले उछिनेपछि उनी जिल्ल परेका छन् ।