काठमाडौं । सोमबार तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन समापन गरिएको छ । मुलुकमा साढे ६ अर्ब स्वदेशी एवं विदेशी लगानी भित्र्याउनेगरी सम्मेलनमा दर्जन बढी सम्झौता भएका छन् ।
आइतबारदेखि सुरु भएको सम्मलेन सोमबार साँझ पूर्वप्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओली र उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले समापन गरे । लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत तथा लगानी सम्मेलन सचिवालयका संयोजक सुशील भट्टका अनुसार सम्मेलनमा आठ सयभन्दा बढी विदेशी प्रतिनिधिसहित दुई हजार पाँच सयभन्दा बढी व्यक्तिको सहभागिता थियो । सम्मेलनबाट नेपालमा लगानीका लागि महत्वपूर्ण प्रतिबद्धता प्राप्त भएको उनले दाबी गरे ।
उनका अनुसार सम्मेलनमा एक दर्जनभन्दा बढी सम्झौता भएका छन् । विभिन्न १२ वटा फरक-फरक सेसन सम्मेलनमा भएका थिए । कुल १५२ वटा आयोजना पेस गरिएकोमा तीमध्ये १९ परियोजनाका लागि आशयपत्र मागसमेत भएको छ । लगानीकर्ताले ऊर्जासम्बन्धी आयोजनामा ४५ दिनभित्र र अन्य आयोजनाका लागि ३५ दिनभित्र आशयपत्र बुझाइसक्नुपर्ने छ ।
सम्मेलनका क्रममा लगानीकर्ताहरुसँग महत्वपूर्ण छलफल भएको पनि प्रमुख कार्यकारी अधिकृत भट्टले बताए । ‘प्रधानमन्त्री र अर्थमन्त्रीसँग लगानीकर्ताको प्रत्यक्ष छलफल र साक्षात्कार भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग मात्र एक दर्जनभन्दा बढी प्रत्यक्ष बैठक बसेका छन्’, उनले भने, ‘विश्व बैङ्क समूह, चीन, भारत, कुवेत, युएई, बेलायत र अमेरिकाका प्रतिनिधिले सहयोगका क्षेत्रहरूमा छलफल गरी नेपालमा लगानीका अवसरहरू खोज्न चासो व्यक्त गरेका छन् ।’
यो सम्मेलनबाट स्वदेश तथा विदेशका लगानीकर्ताले नेपाल लगानीको आकर्षक गन्तव्यका रूपमा स्वीकार गरेको जिकिर पनि प्रमुख कार्यकारी अधिकृत भट्टले गरे । लगानीकर्ताहरु नेपालमा लगानीका अवसरहरू खोज्न इच्छुक रहेको पनि उनको भनाइ छ ।
सम्मेलनका क्रममा बीएलसी ग्रुप नेपाल र योटा डेटा सर्भिस इन्डियाबीच नेपालमा डेटा सेन्टर स्थापनाको लागि सम्झौता भएको छ । लुम्बिनीमा २ अर्ब लगानीमा होटल सञ्चालन गर्न नेपालको साखस् ग्रुपसँग हङकङको बोर ग्रुपले समझदारी गरेको छ ।नेपाल उद्योग वाणिज्य महासंघ र मलेसियाली उद्योग वाणिज्य महासंघबीच व्यापार तथा लगानी प्रवर्द्धन गर्नेगरी द्विपक्षीय लगानी प्रवर्द्धन गर्ने सम्झौता पनि सम्मेलनमा भयो ।
यस्तै कोरियन कम्पनी एमएबीसीले नेपालमा ६ अर्ब लगानी गर्नेगरी नेक्सजेन म्यानेजमेन्ट सोलुसन प्रालिसँग सम्झौता गरेको छ । रारा होल्डिङ्स रिसोर्ट र अस्ट्रेलियन कम्पनी एक्सपर्ट ग्रुपबीच पनि सहकार्य गर्नेगरी सम्झौता भएको छ । एक्सपर्टले ११० करोड लगानी गर्ने जनाएको छ । वर्ल्ड एसोसिएसन अफ पीपीपी युनिट्स एन्ड प्रोफेसनल्स (वाप) र नेपाल एसोसिएसन अफ पीपीपी प्रोफेसनल्स अफ प्राक्टिसनर्स ९नाप०बीच नेपालमा सार्वजनिक–निजी साझेदारी प्रवर्द्धनका गर्ने सम्झौता भएको छ ।
नेपाल चेम्बर अफ कमर्स र क्रोएसियाको व्यावसायिक प्रतिनिधिमण्डलबीच व्यापार र पर्यटन क्षेत्रमा सहकार्य गर्ने पनि सम्झौता सम्मेलनका क्रममा भएको छ । सम्मेलनकै क्रममा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले ९ अर्ब १३ करोड रुपैयाँ बराबरको लगानी स्वीकृतसमेत गरेका छन् । जसमा बेलायती र अस्ट्रेलियनसहित एक चिनियाँ व्यक्तिगत लगानी पनि छ ।
समापन सत्रमा पूर्वप्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पाटी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपालको विकास र समृद्धिको साझा आकाङ्क्षा पूरा गर्नका लागि लागि सबै राजनीतिक दलको साझा प्रतिबद्धता रहको बताए । नेपाल लगानीका लागि नयाँ गन्तव्यका रुपमा स्थापित हुँदै गएको उल्लेख गर्दै उनले लगानीको सुरक्षा प्रत्याभूतिका लागि नेपाल सधैँ प्रतिबद्ध रहेको बताए । नयाँ नीति र लगानीका सम्भावनाबारे लगानीकर्तालाई विस्तृतमा जानकारी दिन यो सम्मेलन सफल भएको धारणा उनको भनाइ थियो ।
यस्तै उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले लगानी वातावरण बनाउनका लागि नेपालले गरेका नीतिगल सुधारबारे लगानीकर्तालाई जानकारी दिन र उनीहरुका सुझाव तथा प्रतिक्रिया लिन यो सम्मेलन सफल भएको बताए । सम्मेलनमार्फत सरकार र प्रतिपक्ष दलबाट पनि नेपालमा लगानी वातावरण सुधारका लागि उच्च राजनीतिक प्रतिबद्धता प्राप्त भएको उनको भनाइ थियो ।
‘आर्थिक विकास र समृद्धिका लागि सरकार प्रतिबद्ध रहेको सन्देश दिन सफल भएका छौँ । लगानीको समग्र पारस्थितिक प्रणालीमा सहजीकरण गर्न, लगानीको सुरक्षा प्रत्याभूति तथा सजिलै लगानी फिर्ता लैजाने वातावरण बनाउन सरकार प्रतिबद्ध रहेको छ,’ उनले भने । सबै लगानीका क्षेत्रमा समन्वय र सहजीकरणका लागि सरकारका तर्फबाट प्रतिबद्धता पनि उनले जनाए ।