एमालेबाट १३ नेताले राजनीतिबाट बिदा लिएपछि नेकपामा ‘प्रेसर’

0 Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गत कात्तिक २४ गते ‘घर फर्क’ अभियानबाट रामकुमारी झाक्री, किसान श्रेष्ठलगायत पार्टी फुटाउने नेतालाई प्रवेश गराए । उक्त कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले कात्तिक १९ गते एकता भई बनेको नेपाली कम्युनिस्ट पार्टी (नेकपा)लाई वृद्धाश्रम भन्न भ्याए ।

‘अहिले एउटा जेष्ठ नागरिक आश्रम सक्रिय भएको छ, जहाँ अब बागलुङ र प्युठानतिरकालाई समेट्दा पूरा हुन्छ,’ नेकपालाई लक्षित गर्दै उनले भने, ‘वरीयताबिना बस्नै नसक्ने बुढाहरूको समूह त्यहाँ जम्मा भएको छ, पदबिना अडिनै नसक्नेहरूले वृद्धाश्रम बनाएका छन् ।’

ओली त्यतिमै रोकिएनन् । पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेतृत्व गरेको नेकपा दोस्रो वरीयता, चौथो वरीयता र छैटौँ वरीयताका वृद्धहरू बटुलिएको पनि टिप्पणी गरे । ‘उमेरले मात्रै नहुने रहेछ, छैटौँ नम्बर पाएपछि कुदिहाल्ने रहेछन्,’ उनले नेकपामा प्रवेश गर्न लागेका भीम रावलसमेत कटाक्ष गर्दै भनेका थिए, ‘एमाले युवाहरूको संगठन हो, वृद्धहरूले अझै आफ्नो उमेरका जम्मा गर्दै छन्, हामी काम गर्ने युवाहरूलाई भित्र्याउँदै छौँ ।’

ओलीले नेकपाले वृद्धाश्रमको आरोप लगाउँदै उनी आफै ७४ वर्षको उमेरमा बिहीबार तेस्रो पटक पार्टी अध्यक्षमा निर्वाचित भए । दुई पटक पार्टीको नेतृत्व गर्दै बारम्बार प्रधानमन्त्री बनेका ओलीले पार्टी विधानलाई संशोधन गरी आफू अनुकूल बनाएर तेस्रो पटक अध्यक्ष बने ।

यसअघि उनले आफूलाई साथ दिने प्रतिनिधिहरू छनौट गरी महाधिवेशनमा ल्याएका थिए । आफ्नो प्रतिद्वन्द्वी ईश्वर पोखरेलका प्रतिनिधिहरूलाई कमजोर बनाउँदै पार्टीको ११औँ महाधिवेशनाबट अध्यक्ष बने। ७४ वर्षको उमेर तेस्रो पटक अध्यक्ष बनिरहँदा उनको टिममा अधिकांश नेताहरु बिदा भएका छन् ।

यस्तै, सक्रिय राजनीतिबाट बिदा लिनेमा तत्कालीन उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, काशीनाथ अधिकारीले सक्रिय राजनीतिबाट बिदा लिएको पार्टी महाधिवेशनमा घोषणा गरेका थिए ।

एमाले पुराना नेता अमृतकुमार बोहरा, केशव बडाल, पूर्वमन्त्री दलबहादुर राना, विद्या भट्टराईले सक्रिय राजनीतिबाट बिदा लिएका छन् । रानाले महाधिवेशन अघि सक्रिय राजनीतिबाट बिदा लिए पनि बोहरा, बडाल र भट्टराई महाधिवेशनबाट बिदा लिएका थिए ।

एमाले नेता भीम केसी, सरेश नेपाल, उमा कोइराला, कमल चौलागाई, भूपेन्द्र थापा र ईश्वरी घर्ती मगर पनि सक्रिय राजनीतिबाट बिदा लिएका छन् । केसी, नेपाल, कोइराला, चौलागाई र घर्ती मगरले महाधिवेशन स्थलबाट सक्रिय राजनीतिबाट बिदा लिएका थिए ।

घर्ती मगरले युवा भए पनि छोराछोरी हुर्काउनुपर्ने भएकाले केही समयका लागि राजनीतिबाट बिदा लिएको जानकारी गराएकी थिइन । थापाले महाधिवेशनअघि परिवारिक कारण देखाउँदै सक्रिय राजनीतिबाट बिदा लिएका छन् ।

एमालेका १३ नेताले सक्रिय राजनीतिबाट बिदा लिएपछि ओलीले वृद्धाश्रमको आरोप लगाएका नेकपाका अधिकांश नेताहरुलाई ‘प्रेसर’ हुने देखिएको छ । पार्टीका नेता हरिबोल गजुरेलले पटक–पटक प्रधानमन्त्री, मन्त्री र सांसद भएका व्यक्ति आगामी फागुन २१ गतेको निर्वाचनमा उठ्न नहुने बताउँदै आएका छन् । उक्त विषय यसअघि माओवादीको अन्तिम सचिवालय बैठकमा लिखित रुपमा दर्ता गराएका थिए ।

एउटै व्यक्ति पटक-पटक पदमा पुग्दा नेतृत्वको विकास नहुने भएकाले ब्रेक हुनुपने गजुरेलको भनाइ छ । नेकपा हुनुअघि माओवादी हुँदा पार्टी सचिव गणेश साहले सक्रिय राजनीतिबाट बिदा लिएर पदबाट राजीनामा गरेका थिए । आफू विज्ञानको खोज अनुसन्धानमा सक्रिय हुने भएकाले पार्टी पदबाट राजीनामा दिएको साहले बताएका थिए ।

नेकपामा माओवादी केन्द्र, एकीकृत समाजवादी लगायत १५ भन्दा बढी कम्युनिस्ट शक्ति र समूह एकता भएर बनेकाले उमेरले पाका भएका नेताहरु धेरै छन् । एमालेबाट अधिकांश नेताहरुले सक्रिय राजनीतिबाट बिदा लिएपछि नेकपाका जेष्ठ नेताहरुलाई नैतिक प्रसेर बढ्नेको एक नेताले बताए ।

‘नेकपामा उमेरले धेरै पाका भएका नेताहरुले सोच्नुपर्छ, सक्रिय राजनीतिबाट बिदा लिएर अभिभावकीय भूमिका निर्वाह गनुपर्छ,’ ती नेताले भने, ‘अब धेरै उमेर भएका नेतालाई उमेरहद वा अन्य कुनै प्रावधान राखेर पार्टीबाट बिदा गरेर सल्लाहकारको भूमिकामा राख्नुपर्छ ।’ नेकपामा धेरै जेष्ठ नेताहरु भएकाले पद वा अन्य कारण देखाउँदै विवाद झिक्न सक्ने युवा नेताहरुले तर्क गर्दै आएका छन् ।

सम्बन्धित समाचार