काठमाडौं । नेकपा एमाले नेता काशीनाथ अधिकारीले सक्रिय राजनीतिबाट बिदा लिएका छन् । ६६ वर्षीय अधिकारीले शुक्रबार सामाजिक सन्जाल फेसबुकमार्फत् सक्रिय राजनीतिबाट बिदा लिएको घोषणा गरेका हुन् ।
पचास वर्षको राजनीतिक जीवनमा ४४ वर्ष पूर्ण कालिन भएर काम गरेको र ३३ वर्ष एमालेको केन्द्रीय सदस्य बनेको जानकारी गराउँदै उनले कहिले नेता नबनेको उल्लेख गरेका छन् । ‘म कार्यकर्ताको पात्र भएको राजनीतिकर्मी थिएँ, समाज बदल्न हिँडेको वास्तविक झोले कार्यकर्ता थिएँ,’ उनले लेखेका छन्, ‘मैले कहिले पनि पद र अवसरका लागि मरिहत्ते गरिनँ ।’
आफूले इमान, निष्ठा र समर्पणका साथ काम गरेको जिकीर गर्दै उनले लेखेका छन्, ‘तन, मन र धनसमेत दिएर निसर्त तथा निस्वार्थ रुपमा गरेँ, म ल्यांगल्यांगे कार्यशैलीको विरोधी हुँ, जसरी पनि जिम्मा पूरा गर्ने मेरो कार्यशैली रह्यो ।’
यस्तै, सक्रिय राजनीतिबाट बिदा लिनेमा तत्कालीन उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली सक्रिय राजनीतिबाट बिदा लिएको पार्टी महाधिवेशनमा घोषणा गरेका थिए । एमाले पुराना नेता अमृतकुमार बोहरा, केशव बडाल, पूर्वमन्त्री दलबहादुर राना, विद्या भट्टराईले सक्रिय राजनीतिबाट बिदा लिएका छन् । रानाले महाधिवेशन अघि सक्रिय राजनीतिबाट बिदा लिए पनि बोहरा, बडाल र भट्टराई महाधिवेशनबाट बिदा लिएका थिए ।
एमाले नेता भीम केसी, सरेश नेपाल, उमा कोइराला, कमल चौलागाई, भूपेन्द्र थापा र इश्वरी घर्ती मगर पनि सक्रिय राजनीतिबाट बिदा लिएका छन् । केसी, नेपाल, कोइराला, चौलागाई र घर्ती मगरले महाधिवेशन स्थलबाट सक्रिय राजनीतिबाट बिदा लिएका थिए । घर्ती मगरले युवा नै भए पनि छोराछोरी हुर्काउनुपर्ने भएकाले केही समयका लागि राजनीतिबाट बिदा लिएको जानकारी गराएकी थिइन । थापाले महाधिवेशनअघि परिवारिक कारण देखाउँदै सक्रिय राजनीतिबाट बिदा लिएका छन् ।
एमालेमा सक्रिय राजनीतिबाट बिदा लिनेको लाइन धेरै भएकाले यसले पार्टीलाई समेत राम्रो गर्ने नेताहरुले बताएका छन् ।