तराईमा ४३.६ डिग्री तापक्रम मापन, तातो हावाको लहरबाट बच्न आग्रह

0 Shares

काठमाडौं । विगत केही दिनदेखि देशका अधिकांश भागको अधिकतम तथा न्यूनतम तापक्रम क्रमिक रुपमा वृद्धि भइरहेकाले तातो हावाको लहर अझै बढ्ने भएको छ ।

लुम्बिनी प्रदेशका तराई भागमा केही दिनदेखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सोभन्दा बढी मापन गरिएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आगामी केही दिनसम्म देशभरको तापक्रमको अवस्थाको विश्लेषणअनुसार तराईका भागमा अत्यधिक गर्मीको सम्भावना रहेको विभागले बुलेटिनमार्फत चेतावनीसहितको सूचना जारी गरेको छ ।

“तातो बढ्ने भएकाले आवश्यक तयारी गर्नुहुन तथा आवश्यक सतर्कता अपनाउनहुन अनुरोध छ”, विभागले भनेको छ । महाशाखाका मौसमविद् रोजन लामिछानेले तातो बढेसँगै आगलागी, हावाहुरीलगायतका समस्या झन बढ्न सक्ने भएकाले सावधानी अपनाउनु पर्ने बताए ।

उनका अनुसार यस वर्ष सबैभन्दा बढी ४३.६ डिग्री तापक्रम मापन भएको छ । भैरहवामा वैशाख ८ गते उक्त तापक्रम रेकर्ड भएको थियो । सूचनामा भनिएको छ, “तराईका भागमा आजदेखि यही वैशाख २० गतेसम्म तातो हावा तथा तातो लहरको सम्भावना रहेको हुनाले सोको असरबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ, साथै पहाडी भागका उपत्यका तथा खोचमा समेत तापक्रम क्रमिक रुपमा बढ्न सक्ने सम्भावना रहेकाले अध्यावधिक रहनु हुन अनुरोध छ ।”

सम्बन्धित समाचार