नेपालगन्ज । उच्च अदालत तुलसीपुरको नेपालगन्ज इजलाशका वरिष्ठतम् न्यायाधीश बामदेव ज्ञवालीले समाजमा फैलिँदै गएको मिसइन्फर्मेसन र डिसइन्फर्मेसनको प्रभाव रोक्न पत्रकारको भूमिका निर्णायक रहेको बताएका छन्।
नेपाल पत्रकार महासंघ बाँकेले उच्च अदालत बार नेपालगन्ज र बाँके जिल्ला अदालत बार एसोसिएसनसँग सहकार्य गरेर आयोजना गरेको ‘कानून र पत्रकारिता अभिमुखीकरण कार्यक्रम’ को उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले अदालतसम्बन्धी समाचारमा तथ्यगतता र शुद्धता अनिवार्य हुने उल्लेख गरे। ज्ञवालीका अनुसार, गलत विवरण प्रसारण हुँदा जनमानसमा भ्रम उत्पन्न हुने भएकाले पत्रकारले सूचना पुष्टि गरेर मात्र सम्प्रेषण गर्नुपर्छ।
उनले अदालतका कानुनी शब्दावली विशिष्ट हुने भएकाले कानुनी भाषाचेतना पत्रकारका लागि आवश्यक दक्षता भएको पनि स्पष्ट पारे। “सही सूचना नै नागरिकलाई सुसूचित गर्ने वास्तविक माध्यम हो,” भन्दै उनले प्रतिवेदन तयार गर्दा अदालतसँग जोडिएका विषयमा विशेष सतर्कता अपनाउन आग्रह गरे।
कार्यक्रममा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष शुक्रऋषि चौलागाईले अदालतसम्बन्धी रिपोर्टिङको अपर्याप्त ज्ञानका कारण कतिपय बेला भिन्नार्थ बोकेको सूचना जनतामाझ पुग्ने गरेको उदाहरण प्रस्तुत गरे। उनका अनुसार, विधागत पत्रकारिता सबल बनाउन यस्ता तालिमहरूले महत्वपूर्ण योगदान पुर्याउँछन्।
नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरीले अभिमुखीकरणले कानुनी रिपोर्टिङमा पत्रकारको दक्षता वृद्धि गर्ने विश्वास व्यक्त गरे। त्यसैगरी, उच्च अदालत बार नेपालगन्जका अध्यक्ष चित्रबहादुर शाहीले कार्यक्रमले अदालतसम्बन्धी विषय बुझ्न पत्रकारलाई थप सहजता मिल्ने बताए।
कार्यक्रममा वरिष्ठ अधिवक्ता लोकबहादुर शाहले सञ्चारसम्बन्धी प्रचलित कानुनबारे, अधिवक्ता प्रह्लाद बहादुर कार्कीले पत्रकारिताका कानुनी आधारहरूबारे र अधिवक्ता विकास आचार्यले अदालती रिपोर्टिङका विषयमा प्रस्तुति दिए।
चार दर्जनभन्दा बढी पत्रकारको सहभागिता रहेको कार्यक्रममा उच्च अदालत बार नेपालगन्जका सचिव गणेश प्रसाद शर्मा, पत्रकार महासंघका पूर्व अध्यक्ष निरजकुमार गौतम, नेपाल प्रेस युनियन बाँकेका अध्यक्ष प्रियास्मृति ढकाल, समाजवादी प्रेस संगठनका अध्यक्ष लोकनाथ शर्मा लगायतको उपस्थिति थियो।
मुख्य अतिथि न्यायाधीश ज्ञवालीले पानस बालेर कार्यक्रमको उद्घाटन गरेका थिए। कार्यक्रम पत्रकार महासंघ बाँकेका सचिव कृष्ण ओलीले सञ्चालन गरेका थिए।