काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले जनवर्गीय र मोर्चा संगठनहरूलाई पार्टी एकताको आवश्यकताबारे व्यापक प्रचार–प्रसार गर्न निर्देशन दिएको छ ।
कम्युनिस्ट पार्टीले पहिलो अन्तर पार्टी (अपानि) निर्देशन जारी गरेर जनवर्गीय र मोर्चा संगठनहरूलाई एकताको औचित्य, महत्व र एकीकरणका लागि भएको सहमतिहरूको व्यापक प्रचार–प्रसार गर्न निर्देशन दिएको हो । पार्टी निर्माणका लागि प्रचार र प्रकाशनको काम ज्यादै महत्त्वपूर्ण रहेको भन्दै प्रचारात्मक कामले मानिसको शरीरमा रक्तसञ्चारजस्तै काम गर्ने अपानिमा उल्लेख छ ।
‘प्रचार–प्रसारको महत्वलाई गम्भीरतापूर्वक ध्यानमा राखेर सबै तहका पार्टी र जनवर्गीय संगठनहरूले प्रचारात्मक कामलाई व्यवस्थित र योजनाबद्धरूपमा अघि बढाउनु पर्दछ,’ अपनिमा भनिएको छ, ‘प्रचार र प्रकाशन क्षेत्रको कामलाई व्यवस्थित गर्नका लागि विस्तृत कार्ययोजना पछि पठाइने छ ।’ पार्टीले अपानिमार्फत् पार्टीका प्रदेश, जिल्ला, संघीय निर्वाचन क्षेत्र, पालिका, वडा, टोलहरूमा पार्टी र जनवर्गीय संगठनका कार्यालयहरू तत्काल स्थापना गरी व्यवस्थित रूपमा सञ्चालन गर्न भनिएको छ ।
‘पार्टी कार्यालय भनेको सूचना संकलन र संप्रेषणको माध्यम हो, सम्पर्कको केन्द्र हो र पार्टी कामको मुटु हो । यही महत्वलाई ध्यानमा राखेर सबै तहमा तत्काल पार्टी कार्यालयहरू स्थापना र सञ्चालन गर्न जरुरी छ,’ अपानिमा लेखिएको छ ।