काठमाडौँ । पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव सुभाष चन्द्र जोशीको प्रमुख आतिथ्यमा एवं विभिन्न विशिष्ट व्यक्तित्वहरूको उपस्थितिमा श्रीगीता जयन्ती कार्यक्रम गीतामाताको आराधना गरी सम्पन्न भएको छ ।
गीताप्रेस पुस्तक प्रचार प्रसार केन्द्र नेपालको तत्वावधानमा तथा गीता परिवार नेपाल, गीताप्रेस पुस्तक विक्री केन्द्र (काठमाडौं र बुटवल) को व्यवस्थापनमा उक्त कार्यक्रम आयोजना गरिएको थियो ।
कार्यक्रममा पशुपतिनाथका मूल भट्ट गिरीश रावल भट्ट, पशुपति क्षेत्र विकास कोषका पूर्व सदस्य सचिव एवं मानव सेवा आश्रमका संरक्षक डा= गोविन्द टण्डन, र वेंकटेश मन्दिरका मठाधीश पद्मधराचार्य को विशिष्ट आतिथ्य रहेको थियो ।
गीताप्रेसको उद्देश्य र माग
गीताप्रेस पुस्तक प्रचार प्रसार केन्द्र नेपालका अध्यक्ष जय किसन सारडाको सभापतित्वमा सम्पन्न कार्यक्रममा, अध्यक्ष सारडाले स्वागत मन्तव्यका क्रममा नेपालमा गीताप्रेसको संक्षिप्त जानकारी दिएका थिए ।
अध्यक्ष सारडाले गीताप्रेस, गोरखपुरबाट प्रकाशित हुने ‘सत्साहित्य’ लाई नेपाली भाषामा अनुवाद गरी प्रचार-प्रसार गर्न भगवान् श्रीपशुपतिनाथको पावन क्षेत्रभित्र स्थायी रूपमा केन्द्र स्थापना होस् भन्ने गीताप्रेस गोरखपुरको चाहना रहेको बताए । सो व्यवस्थाका लागि पशुपति क्षेत्र विकास कोषको सहयोग अपरिहार्य रहेको भन्दै उनले पूर्ण अपेक्षा राखे ।
अध्यक्ष सारडाले गीताप्रेस नेपालको स्थापनापछि हालसम्म करिब ८० वटा पुस्तक नेपाली भाषामा अनुवादित भइसकेको जानकारी गराए । उनका अनुसार, सन् २०२६ को कल्याण शताब्दी वर्षसम्ममा १०० भन्दा बढी पुस्तक लाई नेपाली भाषामा प्रकाशित गराउने लक्ष्य राखिएको छ ।
कार्यक्रममा पशुपतिनाथका मूल भट्ट गिरीश रावल भट्टबाट आशीर्वाद प्रदान भएको थियो । प्रमुख अतिथि सुभाष चन्द्र जोशीसहित अन्य विशिष्ट अतिथिहरू (डा. गोविन्द टण्डन र पद्मधराचार्य) ले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा विभिन्न धर्म संस्कृतिसँग सम्बन्धित धार्मिक एवं सामाजिक संघसंस्था, संस्कृत विद्याश्रम, गुरुकुल, वाल्मीकी संस्कृत विद्यापीठ, विश्वाश्रम, मारवाडी समाजका संघसंस्थाका पदाधिकारी, विद्वत् वर्ग र लब्धप्रतिष्ठित महानुभावहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।
कार्यक्रमको सञ्चालन कार्यक्रम संयोजक एवं महासचिव अञ्जनी नन्दन मारुले गर्नुभएको थियो भने उपाध्यक्ष भरत कुमार तोदीले धन्यवाद ज्ञापन गरेका थिए ।