काठमाडौँ । नेपाली कांग्रेसमा विशेष महाधिवेशन माग गरेकाहरूले काठमाडौँको राष्ट्रियसभा गृहमा भेला गरेका छन् । बुधबार कांग्रेसका पुराना नेता ओमकार श्रेष्ठको अध्यक्षतामा भइरहेको भेलामा विशेष महाधिवेशन माग्ने नेताहरूले उनीहरूले सम्बोधन गरिरहेका छन् ।
कांग्रेसको १४ औँ महाधिवेशनमा २ हजार ४ सय ८८ महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशन माग गरेर संकलन गरेको हस्ताक्षर गत असोज २९ गते कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई बुझाएका थिए ।
आफूहरूको सो माग बमोजिम विशेष महाधिवेशन गर्न दबाब दिने उद्देश्यले उनीहरूले भेला गरेका हुन् । बिहीबार केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । उक्त बैठकबाटै विशेष महाधिवेसनपक्षधरले महाधिवेसन गराउने अवस्थामा पुर्याउने कोसिस गरेका छन् ।
बहुमत महाधिवेसन प्रतिनिधिहरुको हस्ताक्षर संकलन भइ सकेकाले विशेष महाधिवेसनमा पार्टी जान सक्ने धेरैले आकलन गरेका छन् । तर, सभापति शेरबहादुर देउवा कुनै हालतमा महाधिवेसन गर्न नहुने अडानमा छन् । देउवालाई दबाबमा राख्न विशेष महाधिवेसनपक्षधरले भेलाको आयोजना राखेर छलफल जारी राखेका हुन् ।
गत असोज २८ गतेबाट सुरु भएको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले महाधिवेशनको मिति तोक्न सकिरहेको छैन । महाधिवेशन सरकारले फागुन २१ गतेका लागि तोकेको निर्वाचनअघि गर्ने कि पछि गर्ने भन्नेमा कांग्रेसभित्र विवाद छ । त्यही विषयमा छलफल गर्नका लागि बिहीबार केन्द्रीय कार्यसमिति बैठक बोलाइएको छ ।
महाधिवेसनपक्षीय भेलामा केन्द्रीय सदस्य मधु आचार्य, तारामान गुरुङ, प्रतिमा गौतम र अजयबाबु सिवाकोटी सहभागी छन् । पार्टीकै गण्डकी प्रदेश सभापति शुक्रराज शर्मा र लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन पनि सहभागी छन् ।