काठमाडौं । महोत्तरीको एकडारा गाउँपालिकाकी वर्तमान उपाध्यक्ष महजबी खातुनसहित ६ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरूविरुद्ध मुद्दा दायर गरेको हो ।
आयोगले सोही गाउँपालिका १ अन्तर्गतका साना सडक ढलान गर्नका लागि विनियोजन भएको रकममा अनियमितता गरेको ठहर भएको भन्दै विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
भ्रष्टाचारको उजुर परेसँगै अनुसन्धान हुँदा आयोगले तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सरोज कुमार सिंह, इञ्जिनियर सुभाष पाण्डेय, योजना शाखा प्रमुख (अधिकृत छैटौँ) महेन्द्र कुमार मण्डल र असिस्टेन्ट सवइञ्जिनियर संजय कुमार मण्डलले योजनाको खरिद प्रक्रियामा तयार गरिएको गुणस्तर सम्बन्धी मापदण्डअनुसार काम नगरी ८ लाख ६५ हजार १४५ भुक्तानी गर्न भूमिका खेलेको पाइएको जनाउँदै उनीहरुविरुद्ध सो बराबरको बिगो मागदाबी लिइएको छ ।
यसैगरी उपाध्यक्ष खातुनले समेत स्थलगत अनुगमन गरी लागत अनुमान बमोजिमको कार्य सम्पन्न भइसकेको भनी गलत प्रतिवेदन दिएको अख्तियारको ठहर छ ।
सोही प्रतिवेदनको आधारमा भुक्तानीसमेत भएकाले निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९ को उपदफा (२) बमोजिमको कसुरमा सोही ऐनको दफा १९ को उपदफा (२) बमोजिमको कैद र जरिवानाको सजाय हुन मागदाबी लिइएको आयोगका प्रवक्ता नरहरि घिमिरेले बताए ।
यसैगरी, श्री जानकी कन्सट्रक्शनका प्रोपराइटर राकेश कुमार रायले गलत नापी किताब तथा कार्य सम्पन्न प्रतिवेदनको आधारमा भुक्तानी लिएको पाइएकाले उनलाई समेत आठ लाख ६५ हजार रुपैयाँ बिगो कायम गरेर आरोपपत्र दायर गरिएको छ ।