मंसिरभित्रै १५औँ महाधिवेशन गर्न कांग्रेसका २५ केन्द्रीय सदस्यको पत्र

0 Shares

काठमाडौं । नेपाली कांग्रेसले आगामी मंसिरभित्र १५औँ महाधिवेशन प्रारम्भ गरी तहगत रुपमा अधिवेशन सम्पन्न गर्न कार्य तालिका बनाई लागू गर्न २५ केन्द्रीय सदस्यले पार्टी कार्यालयमा पत्र दर्ता गराएका छन् ।

पार्टीका केन्द्रीय सदस्य उदयशमशेर राणासहितका २५ केन्द्रीय सदस्यले शुक्रबार पार्टीको केन्द्रीय कार्यालय सानेपा पुगेर १५औँ महाधिवेशन सम्पन्न गर्न ध्यानाकर्षण पत्र बुझाएका हुन् ।

उनीहरूले समयसीमा निर्धारण गरी क्रियाशील सदस्यता नवीकरण र नयाँ क्रियाशील सदस्यता वितरण कार्य सम्पन्न गर्नाका साथै २०८२ फागुन २१ गतेको निर्वाचनलाई परिणाममुखी बनाउन पार्टीको विधानबमोजिम मंसिरभित्र १५औँ महाधिवेशन प्रारम्भ गरी तहगत रुपमा अधिवेशन सम्पन्न गर्नका लागि कार्य तालिका बनाई लागू गर्न ध्यानाकर्षण पत्र दर्ता गराएका हुन् ।

ध्यानाकर्षण पत्र दर्तापश्चात् प्रतिक्रिया दिँँदै केन्द्रीय सदस्य राणाले पार्टीलाई विधि र पद्धतिअनुसार सञ्चालन गर्दै जनविश्वास जित्ने गरी अगाडि बढ्न मध्यमार्गी बाटोमा अगाडि बढ्न ध्यानाकर्षण पत्र दर्ता गराएको बताए ।

“हामीले मध्यमार्गी बाटो अपनाएर अहिलेको समस्या समाधानका लागि ध्यानाकर्षण गराएका हौँ, यो दबाब हैन, धारणा हो, हामीले पार्टीलाई एकबद्ध गराउन मध्यमार्गी बाटो खोजेका हौँ, मध्यमार्गी बाटो लिनुपर्छ र अधिकांश साथीहरूले जटिल अवस्था निम्त्याउनु हुँदैन भनेर धारणा राख्नु भएको छ, विशेष महाधिवेशन गर्दा जञ्जालमा फस्छौँ, मंसिर २९ अगावै १५औँ महाधिवेशनको सुरुआत गर्नुपर्ने धारणा राखेका छौँ,” उनले भने ।

केन्द्रीय सदस्य राणाले कांग्रेस केन्द्रीय समितिको मात्रै नभई धेरै क्रियाशील सदस्य, पार्टीका विभिन्न तहमा रहेका नेता तथा कार्यकर्ताको समेत लगानी, मेहनत र अथक प्रयासले पार्टी जीवन्त रहेको धारणा राखेका थिए ।

कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई सम्बोधन गरेर बुझाइएको ध्यानाकर्षण पत्रमा केन्द्रीय सदस्य राणासहित राजेन्द्रकुमार केसी, भरतकुमार शाह, अर्जुनप्रसाद जोशी, पुष्पा भुसाल, कर्णबहादुर बुढा, गणेश लामा, आङ्गेलु शेर्पा, डा डिला संग्रौला, नानु बाँस्तोला, धना खतिवडा, अब्दुल रज्जक, देवेन्द्रराज कँडेल, योगेन्द्र चौधरी, गोपाल दहित, बहादुर सिंह लामा, दिलमान पाख्रिन, अब्दुल सतार, मोहन आचार्य, अमृत अर्याल, जिपछिरिङ लामा, रामजनम चौधरी, चम्पादेवी खड्का र नारायणबहादुर कार्कीले हस्ताक्षर गरेका छन् ।

सम्बन्धित समाचार