आगलागीमा परी एक जनाको मृत्यु , ८८ घर गोठ जलेर नष्ट

0 Shares

काठमाडौं । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका ३ मा आगलागी हुँदा एकको मृत्यु भएको छ ।

ढारपाखा सामूदायिक वनबाट फैलिएको आगो नेपाने टोलमा पस्दा ७० वर्षीया बुदी कामीको मृत्यु भएको छ । तीनवटा घर जलेर नष्ट भएका छन् ।

आज दिउँसो पौने २ बजेतिर ढारपाखा सामूदायिक वनमा लागेको आगो गाउँमा पस्दा नेपाले टोलका युवराज विक, अन्नते सार्की र वुदी कामीको घर जलेर नष्ट भएको हो ।

७० वर्षीया कामीको घरबाट सामान निकाल्ने क्रममा आगोले जलेर मृत्यु भएको वडाअध्यक्ष तिलवीर केसीले जानकारी दिए ।

यस्तै, बाजुराको बडीमालिका नगरपालिका १ नुवाकोटमा आगलागी हुँदा दुई वटा घर जलेर पुर्ण रुपमा नष्ट भएको छ । स्थानीय आइते ल्वार र जयवीर ल्वारको घरमा आगलागी हुँदा जलेर पूर्ण रुपमा क्षति भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

घर नजिकै बनाइएको बाख्राको गोठमा राखिएको घाँसमा बालबालिकाले आगो लगाएपछि घरमा आगलागी भएको प्रहरीको अनुमान रहेको छ । आगलागी पीडितले बाख्राको खोर नजिकै बालबालिका खेलिरहेको प्रहरीलाई जानकारी गराएकाले बालबालिकाले नै आगो लगाएको हुन सक्ने जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यसैगरी, गुल्मीमा आगलागीबाट ८३ घरगोठ जलेका छन् । शुक्रबार र शनिबार रातिसम्म लागेको आगोले जिल्लाको इस्मा गाउँपालिका १, २ र ४ तथा गुल्मीदरबार गाउँपालिकामा लागेको आगोले ३७ घर र ४६ गोठ जलेर पूर्ण रुपमा नष्ट भएका छन् ।

आगलागीबाट करोडौंका भौतिक संरचना एवं सयौँको संख्यामा चौपायाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रवक्ता शंकरप्रसाद पोख्रेलले जानकारी दिए ।

शनिबार दिउँसोबाट इस्मा गाउँपालिका २ स्थित सिन्दुखाको रानी सामूदायिक वनमा लागेको आगो बस्तीमा पसेको थियो । जसबाट हस्तिचौरका १५ जनाको घरगोठ जल्नाका साथै दर्जनौँ चौपायाको आगोमा परी मृत्यु भएको प्रहरीले जनाएको छ ।

इस्मा गाउँपालिका १ मा लागेको आगोका कारण ट्र्याक्टर चालक १९ वर्षीय हिमाल राना र मुसिकोट नगरपालिका ७ पल्टारका २१ वर्षीय प्रेम राना घाइते भएका छन् ।

आगोले घरभित्र भएका अन्न, लत्ता कपडा, गहनालगायत सबै सामग्री नष्ट गरेकाले पीडित झनै समस्यामा परेका छन् । जंगलमा आगो लागेको बेला हावाहुरी चलेपछि नियन्त्रणमा कठिनाइ हुँदा आगो बस्तीमा पसेको थियो ।

सम्बन्धित समाचार