काठमाडौँ । चालु आर्थिक वर्षको चैत महिनामा विद्युतीय गाडीको आयात बढेको छ। फागुनको तुलनामा चैतमा विद्युतीय गाडीको आयात शत प्रतिशतभन्दा धेरैले बढेको हो। चैत एक महिनामा ६५८ वटा विद्युतीय गाडी भित्रिएको भन्सार विभागले जनाएको छ।
विभागको तथ्याँक अनुसार फागुन महिनामा २७६ वटा मात्रै गाडी आगात भएको थियो। पुस महिनामा करिब १४ सय गाडी भित्रिएको थियो भने माघमा ११ सय गाडी आयात भएको थियो। पछिल्लो समय गाडी बिक्री घट्दा आयात समेत कम हुँदै गएको थियो। चैतमा भने गाडी आयात केहि बढेको छ।
चालु आर्थिक वर्षको ९ महिनामा १७ अर्ब ४९ करोड रुपैयाँ बराबरको ७ हजार ९३ वटा विद्युतीय गाडी आयात भएका छन्। जसबाट सरकारले ७ अर्ब ७८ करोड रुपैयाँ राजस्व उठाएको छ।
पछिल्लो समय इन्धन गाडीको बजार इभीले खोस्दै गएपछि इन्धनबाट चल्ने गाडीको व्यापार न्युन छ । जसको कारण इभी गाडीको आयात बढ्दै गएको छ भने इन्धनबाट चल्ने गाडीको आयात कम भएको छ।
भन्सार विभागले सार्वजनिक गरेको चैतसम्मको तथ्याङ्कमा ५० किलोवाटसम्मका २ हजार ९०२ जसमा २ हजार १२७ वटा गाडी भारतबाट मात्रै आयात भएका छन्।
५० देखि १०० किलोवाटका ४ हजार ७७ ओटा गाडी नेपाल भित्रिएका छन । जसमा चीनबाट मात्रै ३ हजार ७४२ वटा गाडि भित्रिएका छन्।
५० किलोवाटसम्मका गाडीमा भारतको बर्चस्व रहँदा ५० देखि १०० किलोवाटसम्म चिनियाँ ब्रान्डका गाडी देखिएका छन्। जसमा ५० किलोवाट तलका टाटाको टियागोसँगै एमजी कोमेट भारतबाट आउँछन्। चीनबाट बीवाईडीको अट्टो ३,सेरेस ३ लगायतको आयात बढी रहेको छ।
यस्तै १०१ देखि २०० किलोवाटसम्मका ९३ वटा र २०१ किलोवाट माथिका २१ वटा मात्रै आयात भएका छन्।