पूर्व मुख्यसचिव तथा लोकसेवाका पूर्वाध्यक्ष शाक्यको अन्त्येष्टि

0 Shares

काठमाडौं । पूर्वमुख्यसचिव तीर्थमान शाक्यको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ ।

गत बुधबार ग्वार्कोस्थित बिएण्डबी अस्पतालमा निधन भएका शाक्यको बौद्ध धर्म परम्पराअनुसार आज दिउँसो साढे एक बजे शङ्खमूलस्थित आर्यघाटमा अन्त्येष्टि गरिएको हो ।

उनको पार्थिव शरीरमा जेठा छोरा महेन्द्र शाक्यले दागबत्ती दिएका थिए । सोही अवसरमा ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले आर्यघाट पुगेर पुष्पगुच्छासहित श्रद्धाञ्जली अर्पण गरे । साथै नेपाल प्रहरीको टुकुडीले गारत सम्मानसहित सलामी अर्पण गरेको थियो ।

अन्त्येष्टिमा लोकसेवा आयोगका प्रमुख माधवप्रसाद रेग्मी, आयोगका सदस्यहरु, पूर्वअध्यक्ष दिनेशचन्द्र थपलिया, संविधानसभाका सदस्य मदनबहादुर अमात्य, बागमती प्रदेशसभा सदस्य रामकृष्ण चित्रकार, ललितपुरका प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठ, जिल्ला प्रहरी प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक शेखर खनाल, नेपाल सरकारका विशिष्ट श्रेणीका अधिकृतहरुसहितका व्यक्तित्वहरुका साथै स्थानीयको सहभागिता थियो ।

नेपाल कानून समाजका अध्यक्षसमेत रहेका शाक्य क्यान्सरसम्बन्धी रोगबाट पीडित थिए । लोकसेवा आयोगका पूर्वाध्यक्ष शाक्य ८१ वर्षको उमेरमा निधन भएको हो ।

उनी डेढ महिनाअघि मात्र भारतको दिल्लीमा स्वास्थ्य परीक्षण गरी स्वदेश फर्किएका थिए । नेपालको कानूनको मस्यौदामा दख्खल प्राप्त गरेका उनी कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयको सचिवसमेत भएका थिए ।

स्व. शाक्यका दुई छोरा र दुई छोरी छन् । उनको श्रीमतीको करिब तीन महिनाअघि मात्रै निधन भएको थियो ।

सम्बन्धित समाचार