काठमाडौंं । नेत्रविक्रम चन्द‘विप्लव’ नेतृत्वको नेकपाले नेकपा माओवादी केन्द्र सहित विचार मिल्ने पार्टीसँग एकता गर्न वार्ता टोली गठन गरेको छ । नेकपा प्रवक्ता खड्गबहादुर विश्वकर्मा‘प्रकाण्ड’को नेतृत्वमा तीन सदस्यीय वार्ता टोली गठन गरेको हो ।
नेकपा केन्द्रीय समिति बैठकले प्रवक्ता विश्वकर्मा सहित सचिवालय सदस्य कर्णजीत बुढा, अनिल शर्मा हुने गरी वार्ता टोली गठन गरेको नेकपा एक नेताले बताए । ‘कपिलवस्तुमा गत भदौ २३ र २४ गते बसेको केन्द्रीय समिति बैठकले प्रवक्ताको नेतृत्वमा तीन सदस्यीय वार्ता टोली गठन गरेको छ । माओवादी केन्द्र सहित माओवादी धार र बिचार मिल्ने पार्टीसँग एकता गर्ने निर्णय भयो । त्यति बेलै जेनजी आन्दोलन भएपछि राम्रोसँग छलफल गर्न नपाएरै बैठक सकियो’ ती नेताले भने ।
यसअघि माओवादी केन्द्रले विप्लव नेतृत्वको नेकपालाई एकता गर्न तयार गरेको भन्दै पत्र पठाएको थियो । लगत्तै नेकपाले एकता गर्न सकारात्मक भएको बैठकबाट आधिकारिक निर्णय गर्ने पत्रको जवाफ पठाएको थियो । एकता गर्ने वातावरण बन्दै गएको बेला जेनजी आन्दोलन भएपछि नयाँ घटनाक्रम विकसित भएपछि छलफलबाट नयाँ ठाउँमा पुग्नुपर्ने नेताहरूले बताएका छन् ।
अब पार्टी एकता गर्दा पुराना नेता बिदा भएर नयाँ युवालाई समेटेर पार्टी पुनर्गठन गर्नुपर्ने बताउँदै आएका छन् ।