काठमाडौं । प्रमुख राजनीतिक दलका दोस्रो तहका नेताहरूले जेनजीको भावनाअनुरूप संविधान सम्मत ढंगले अन्तरिम सरकार गठनसँगै सुशासन र पछिल्ला हिंसात्मक घटनाको छानबिन गर्न शक्तिशाली आयोगहरू गठन गर्न आह्वान गरेका छन् ।
कांग्रेस, एमाले, माओवादी केन्द्र, रास्वपा, नेकपा एस, जनता समाजवादी पार्टीका दोस्रो तहका नेताका साथै स्वतन्त्र सांसद समेतले १६ जना नेताले संयुक्त वक्तव्य जारी गर्दै पार्टीमा लोकतान्त्रिक मूल्य मान्यता स्थापित गर्न नसक्नुमा आफ्नो कमजोरी स्वीकार गर्दै क्षमायाचना समेत गरेका छन् ।
यस्तो छ सयुक्त वक्तव्य
जेनजी पुस्ताले गरेको आन्दोलनको क्रममा सरकारले निहत्ता युवाहरूमाथि चलाइएको गोलीबाट दर्जनौँको मृत्यु भएको घटनाले समग्र राष्ट्र नै स्तब्ध भएको छ।
राजनैतिक सुधारका लागि माग गर्ने होनहार युवाहरुको हत्याको भत्सना गर्दै मृत्यु वरण गर्नेहरुप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौँ । साथै परिवारजनमा हार्दिक संवेदना व्यक्त गर्दछौँ। । सयौँको सङ्ख्यामा घाइते हुनुभएकाहरूप्रति स्वास्थ्य लाभको कामना गर्दछौँ।
आन्दोलनले उठाएका मुख्य नाराहरू सान्दर्भिक भएको निष्कर्ष निकाल्दै देशमा विद्यमान विषम परिस्थितिलाई समाधान गर्न शान्ति सुरक्षा कायम गर्न र समाधानको लागि सहयोगी बन्न हामी प्रतिबद्ध छौंँ ।
साथै विगतमा जनताको बीचमा उत्पन्न निराशालाई बुझ्ने र समयमा समाधान गर्ने पहलमा कमी भएको र पार्टीमा लोकतान्त्रीक मूल्य स्थापित गर्न नसक्नुमा हाम्रो पनि कमजोरी भएको कुराप्रति आत्मसमीक्षा गर्दै क्षमायाचना गर्दछौँ । वर्तमान राजनैतिक संकट समाधान गर्न हामी निम्न व्यक्तिहरुले देहाय बमोजिम गर्न गराउन सम्मानीय राष्ट्रपतिज्यूको ध्यानाकर्षण गर्दछौँ।
राष्ट्रमा उत्पन्न असामान्य परिस्थितिको अन्त गरी मुलुकलाई वैधानिक दायरामा ल्याउन जेनजीको भावना अनुरुप संविधान सम्मत ढंगले अन्तरिम सकार गठन गर्न अनुरोध गर्दछौँ।
आन्दोलनको क्रममा भएको जनधनको क्षति सार्वजनिक तथा निजी सम्पत्तिको क्षति व्यक्ति केन्द्रित हमला समग्रको छानबिन गरी दोषी यकिन गर्न र निजहरूलाई कानुनको दायरामा ल्याउन एक शक्तिशाली आयोग गठन गर्न माग गर्दछौँ।
भ्रष्टाचारको अन्त्य गर्न राज्यको उच्चतहमा बसेका सबैको सम्पत्ति छानबिन गरी कारबाहीको दायरामा ल्याउन उच्चस्तरीय आयोग गठन गरियोस्। वर्तमान संविधानको संशोधन र परिमार्जनको बारेमा विभिन्न मत रहेको सन्दर्भमा ध्यान दिँदै संविधानको पुनरावलोकन गरी संविधानमा गर्नुपर्ने सुधारका विषयहरूलाई सरोकारवाला सबैसँग परामर्श गरी सिफारिस गर्न संविधान पुनरावलोकन तथा सुधार आयोग गठन गरियोस् ।
आन्दोलनले स्थापित गरेका मुद्दाहरू भ्रष्टाचारको अन्त्य गरी सुशासनको सुनिश्चितता, राजनीतिक स्थायित्व ,परिवारवादको अन्त्य र नयाँ पुस्ताबाट नेतृत्व गर्ने वातावरण सिर्जना गर्ने,सत्तामा लामो समयसम्म निश्चित व्यक्तिको हालीमुहाली हुनुले आजको संकटको अवस्था सिर्जना गरेकाले आइन्दा यस्तो अवस्थाको पुनरावृत्ति हुन नदिन राजनीतिक दलसम्बन्धि कानुन परिमार्जनमार्फत सत्तालाई दुरुपयोग गर्ने अवस्था अन्त्य गरियोस् ।
आन्दोलनको क्रममा अवान्छित तत्वहरुले सार्वजनिक र निजी समरचना राज्यका तथ्य तथ्याङ्क श्रेस्ता सम्पूर्ण जलायर समाप्त पारिए को छ । ठूलो आर्थिक क्षति भएको छ । यस्तो परिस्थितिमा संवैधानिक रुपले राष्ट्रपति ज्युको अहंम भूमिका हुने र राष्ट्र र राष्ट्रियताको रक्षा तथा नेत्रित्व गर्न कमी हुने छैन भन्ने विश्वास व्यक्त गर्दछौँ।
धनश्याम भुसाल – जनार्दन शर्मा
सुरेन्द्र प्रसाद पाण्डे – ए न पि साउँद
मिनेन्द्र रिजाल – राजकिशोर यादव
देवेन्द्र पौडेल –अमरेश सिङ
गोकर्ण विष्ट– सुदन किराती
रामकुमारी झाक्री –मिना तामाङ्ग
अमनलाल मोदी –सन्तोष परियार
चन्द्र भण्डारी – प्रकाश ज्वाला