काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) लाई नेतृत्व लिन जेन-जीले दबाब दिएका छन् । सोमबार दिउँसोदेखि सामाजिक सञ्जाल प्रयोगकर्ताले जेन-जीको आन्दोलनको नेतृत्व लिन बालेनलाई दबाब दिएका हुन् ।
“प्रिय बालेन, अहिल्यै नेतृत्व लेऊ वा कहिल्यै नलेऊ,” सामाजिक सञ्जाल प्रयोगकर्ताले भनेका छन् । सामाजिक सञ्जाल फेसबुक, एक्सलगायतमा यो ट्रेन्डले व्यापक चर्चा पाएको छ । उनीहरूले सामाजिक सञ्जालमाथिको प्रतिबन्ध, बढ्दो भ्रष्टाचार र नेपाली राजनीतिज्ञका सन्तानको कल्पनीय विलासी जीवनशैलीको स्रोत के हो भन्दै प्रदर्शन थालेका थिए । सोमबार बिहान नौ बजेदेखि राजधानीको माइतीघर क्षेत्रमा सुरु भएको प्रदर्शन मीनभवनस्थित संसद् भवनसम्म पुगेको थियो ।
जेन-जीले प्रदर्शनको घोषणा गरेसँगै बालेनले सामाजिक सञ्जालमार्फत समर्थन जनाएका थिए । आफ्नो उमेर हदका कारण सहभागी हुन नसक्ने बताउँदै बालेनले शान्तिपूर्ण तरिकाले आन्दोलन गर्न आह्वान गरेका थिए ।