जेनजीले भन्यो–सरकारको बैधता सकिएकाले प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ

0 Shares

काठमाडौं । शान्तिपूर्ण आन्दोलनमा सरकारले निर्मम दमन गरेपछि जेन्जी पुस्ताले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेको छ। निर्दयी दमनसँगै वर्तमान सरकारको वैधता पूर्ण रूपमा समाप्त भएको प्रष्ट पार्दै जेन्जी पुस्ताले प्रधानमन्त्रीको राजीनामा मागेको हो।

प्रेस विज्ञप्ती जारी गर्दै जेन्जी पुस्ताले भनेको छ, ‘दर्जनौँ युवाहरूमाथि गोली प्रहार गरिएको छ, सयौँ घाइते भएका छन्। तिनकुने घटनाभन्दा पनि भयावह तरिकाले घरका छतबाट अश्रु ग्यासको वर्षा गरिएको छ। यस निर्दयी दमनसँगै वर्तमान सरकारको वैधता पूर्ण रूपमा समाप्त भएको छ।’

लाखौँको संख्यामा नयाँ पुस्ता सडकमा आइसकेकाले वैकल्पिक सरकारको बाटो खोल्नु अपरिहार्य रहेको भन्दै जेन्जीले प्रधानमन्त्रीलाई तत्काल राजीनामा दिन आग्रह गरेको छ।

उनीहरुले तत्काल दमनकारी गतिविधिबाट पछि हट्दै जनताको अधिकारलाई सम्मान गर्न सुरक्षा निकायहरुलाई पनि आग्रह गरेका छन्। ‘हामी सम्पूर्ण राजनीतिक दलहरू, नागरिक समाज, बुद्धिजीवी वर्ग तथा अन्तर्राष्ट्रिय समुदायलाई यो यथार्थलाई स्वीकार गरी जिम्मेवार ढंगले अघि बढ्न अपिल गर्दछौँ। गोली र असुर ग्यासले अब युवाहरूको आवाज दबाउन सकिँदैन। न्याय, मर्यादा र नयाँ राजनीतिक भविष्यको माग सडकमा गुञ्जिएको छ, र कुनै पनि दमनले त्यसलाई रोक्न सक्ने छैन।’

जेन्जीले घाइतेहरूको निःशुल्क र गुणस्तरीय उपचार गर्नुपर्ने माग समेत अघि सारेका छन्।

सम्बन्धित समाचार