काठमाडौं । नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठकमा सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयप्रति नेताहरुले गम्भीर असन्तुष्टि जनाएका छन् । सभापति शेरबहादुर देउवा निवासमा आइतबार विहान बसेको बैठकमा सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयमा नेताहरुले असन्तुष्टि जनाएका हुन् ।
सहमहामन्त्री जीवन परियारका अनुसार सामाजिक सञ्जाल बन्द गर्ने निर्णयमा सरकारसँग छलफल गर्ने निर्णय भएको छ । आजको बैठकमा सरकारमा सहभागी कांग्रेसका मन्त्रीहरुमा पर्यटनमन्त्री बद्री पाण्डे मात्रै सहभागी थिए । उनी चीनमा रहेको बेला सरकारले निर्णय गरेको हुँदा पाण्डेले सामाजिक सञ्जाल बन्द गर्नुपरेको कारणबारे सरकारी धारणा नराखेको बताइएको छ । सरकारमा सहभागी रहेका अरु मन्त्रीहरुसँग छलफल गरेर पार्टीको औपचारिक धारणा सार्वजनिक गर्नेबारे आज छलफल भएको एक नेताले जानकारी दिए ।
नेपालमा सूचीकृत हुन गरेको आह्वान नटेरेको भन्दै सरकारले यही भदौ १९ गते फेसबुकसहितका सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको थियो ।
सामाजिक सञ्जाल बन्द गर्ने सरकारी निर्णयको विरुद्धमा महामन्त्री गगन थापा, नेताहरु विमलेन्द्र निधि, गोपालमान श्रेष्ठ, अर्जुननरसिंह केसी, बालकृष्ण खाण, महेन्द्र यादव लगायतले विचार राखेका थिए ।