ललितपुर । नेकपा एमालेको दोस्रो विधान महाधिवेशनको दोस्रो दिन आज बन्दसत्रमा आउने प्रतिनिधिको गाडीले ललितपुरको हरिसिद्धि घुम्तीमा एक बालिकालाई ठक्कर दिएको छ ।
बालिकाको सम्पूर्ण उपचार खर्च पार्टीले बेहोर्ने गरी उपचारका लागि अस्पताल पठाएको जानकारी दिँदै अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले बालिकाको शीघ्र स्वास्थ्य लाभको कामना गरे । दुर्घटना भवितव्य भएकाले महाधिवेशन अवरोध गर्न कसैले राजनीति गर्न खोजेकोप्रति अध्यक्ष ओलीले दुःख व्यक्त गरे ।
“गाडीले लागेको बालिकालाई अस्पताल लगिसकियो, त्यस्तो कुनै नियत थिएन, पार्टीले उनको सम्पूर्ण उपचार खर्च बेहोर्छ, घटनाप्रति दुःख व्यक्त गर्दछु, कहिलेकाहीँ यस्ता अप्रिय घटना हुन्छन्”, अध्यक्ष ओलीले भने, “यसमा हामी पनि दुःखी भएका छौँ, बालिकाको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौँ ।”
गोदावरी ललितपुर सनराइज सभाहलमा शुक्रबारको बन्दसत्रमा प्रस्ताव हुन बाँकी तीन प्रतिवेदन आज पेस हुने क्रम जारी छ । अहिले निर्वाचन आयोगका संयोजक डा. विजय सुब्बाले प्रतिवेदन पेस गर्दै छन् । प्रतिवेदन पेस भएपछि १० समूहमा छलफल हुनेछ ।