काठमाडौं । सरकारले दर्ता नहुने सामाजिक सञ्जाल बिहीबार २ बजे नेपाल दुरसञ्चार प्राधिकरणमार्फत इन्टरनेट प्रदायकलाई पत्र पठायो । भाइबर, टिकटकलगायत पाँच सामाजिक सञ्जालबाहेक २६ वटा बन्द गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले प्राधिकरणलाई पत्र पठाएको हो । लगत्तै टेलिग्राम ग्लोबल डायरी र हाम्रो पात्रो दर्ताका लागि निवेदन दिए । सबैभन्दा बढी मेटाअन्तर्गतको फेसबुक, म्यासेन्जर, ह्वाट्सवलगायत सञ्जाल के हुन्छ भन्ने विषयलाई सबैले चासोका साथ हेरेका थिए ।
सञ्चार मन्त्रालयका प्रवक्ता गजेन्द्रकुमार ठाकुरले हचुवाको भरमा मेटा सम्पर्कमा आएको प्रतिक्रिया दिएका थिए । ‘मेटाको सिंगापुर कार्यालयबाट दर्ता हुन सम्पर्कमा आयो , हामीले आवश्कक कागजात पठाएका छौँ, मेटा दर्ता हुने प्रक्रियामा जान्छ,’ ठाकुरले यसैगरी मिडियालाई प्रतिक्रिया दिएका थिए । अन्तमा सञ्चार मन्त्रीका स्वकीय सचिवलाई सिंगापुरको एक व्यक्तिले इमेल गरेर मेटा दर्ताको प्रतिक्रया मागेको मन्त्रालयका एक कर्मचारीले बताए ।
‘सिंगापुरको एक व्यक्तिले मेटाको आधिकारिक कर्मचारी हुँ भनेर दर्ता हुन के के कागजात चाहिन्छ भनेर इमेल पठाएको रहेछ, सरकारको आधिकारिक इमेलमा पठाएको होइन एक कर्मचारीलाई इमेल पठाएको रहेछ,’ ती कर्मचारीले भने, ‘त्यसलगत्तै ठाकुरले मेटा दर्ता हुन आधिकारिक रुपमा आएको छैन भनेर मिडियामा दोस्रो पटक प्रतिक्रिया दिएका थिए ।’
मन्त्रालयकै प्रवक्ताले मेटा दर्ता हुन आएको प्रतिक्रिया दिएका थिए । त्यसलगत्तै फेरि अरु मिडियामा ठाकुरले मेटा सम्पर्कमा नआएको बताएका थिए । मेटाबारे मन्त्रालय दोहोरो सूचना दिएपछि सर्वसाधरण अलमल परेका थिए ।