झुटा सवारी दुर्घटना खडा गरी बीमा रकम दाबी गर्ने गिरोहमा संलग्न ६ जना पक्राउ

0 Shares

काठमाडौं । झुटा सवारी दुर्घटना खडा गरी बीमा रकम दाबी गर्ने गिरोहमा संलग्न ६ जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा गोदावरी–१४, ललितपुरका ३६ वर्षीय सुनिल महर्जन, सोही स्थानका ३३ वर्षीय विकेश कुँवर, काठमाडौं–१४ बस्ने विनोद डंगोल, सर्लाही घर भएका हाल काठमाडौं-३१ बस्ने सुनिल सापकोटा, पाँचखाल–२, काभ्रे घर भएका हाल काभ्रेपलाञ्चोक बस्ने हरि प्रसाद गौतम र निजगढ–६, बारा घर भई हाल कागेश्वरी मनोहरा–७, काठमाडौं बस्ने ४५ वर्षीय मनोजकुमार आचार्य छन्।

प्रहरीका अनुसार उनीहरूले विभिन्न समयमा नक्कली दुर्घटना खडा गरी सरकारी कार्यालयको कागजात तथा छाप बनाएर नक्कली घाइते देखाउने र बि.एण्ड बी. अस्पतालमा उपचार गराएको जस्तो नक्कली कागजात तयार गरी नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीबाट रकम दाबी गर्दै आएका थिए।

उक्त कार्यमा संलग्न कम्पनीका कर्मचारीसहित ६ जनालाई भदौ १७ गते साँझ ७ बजे नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए।

कागजात सम्बन्धी कसुरमा काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

प्रहरीले घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी भइरहेको जनाएको छ।

सम्बन्धित समाचार