काठमाडौं । उद्योग विभागले भारतीय कम्पनी नेसनल को–अपरेटिभ एक्सपोर्ट लिमिटेड (एनसीईएल) मार्फत नेपाललाई आयात स्वीकृति प्राप्त ४० हजार टन गहुँ आयातका लागि इच्छुक उद्योगीलाई प्रस्ताव पेस गर्न सूचना जारी गरेको छ।
विभागले सात दिनभित्र तोकिएका सर्त पूरा हुने गरी प्रस्ताव पेस गर्न सूचना जारी गरेको हो । स्वदेशी उत्पादन अपुग हुने देखिएपछि सरकारले भारतबाट गहुँ आयात गर्न लागेको हो। सरकारले खाद्य तथा मैदा उद्योगलाई प्रस्ताव पेस गर्न सूचना सार्वजनिक गरेको छ।
स्थानीय उत्पादनले माग धान्न नसक्दा विदेशबाट गहुँ आयात हुने गरेको छ। आर्थिक वर्ष २०८०/८१ मा २ अर्ब ७३ करोडको करिब ६५ हजार टन गहुँ आयात भएको भन्सार विभागको तथ्यांक छ। यद्यपि भारतले पनि उत्पादन कम हुँदा गहुँ निर्यातमा कोटा लगाएपछि गत वर्ष न्यून परिमाणमा आयात भएको थियो।
आर्थिक वर्ष २०८०/८१ मा ७ लाख १५ हजार हेक्टर क्षेत्रफलमा २१ लाख ५५ हजार ६६७ मेट्रिक टन गहुँ उत्पादन भएको कृषि तथा पशुपक्षी विकास मन्त्रालयको तथ्यांकमा उल्लेख छ।
यसमध्ये आव २०८०/८१ मा सबैभन्दा मधेस प्रदेशमा ५ लाख ३२ हजार टन, लुम्बिनीमा ५ लाख ३६ हजार, कोसीमा १ लाख ४८ हजार, बागमतीमा १ लाख ७४ हजार टन धान उत्पादन भएको थियो।
मन्त्रालयका अनुसार कर्णालीमा १ लाख ८८ हजार टन तथा सुदूरपश्चिममा तीन लाख ७७ हजार टन गहुँ उत्पादन हुँदा सबैभन्दा कम गण्डकी प्रदेशमा ९९ हजार ५५१ टन उत्पादन भएको तथ्यांक छ।