श्रीमान हराएको चार दिनपछि श्रीमतीसँगै छोरा मृत फेला

0 Shares

सिरहा । जिल्लाको लहान नगरपालिका १ मटियर्वामा घरमै एकै परिवारका आमा र छोराको शव फेला परेको छ ।

लहान नगरपालिका १२ भोटियाटोल घर भई मटियर्वामा डेरा लिएर बस्दै आएका प्रवीण चौधरीकी २३ वर्षीया श्रीमती रञ्जिता र पाँच वर्षीय छोरा एरोज आज बिहान मृत फेला परेका हुन् ।

रञ्जितासँगै रहेका नौ महिनाका अर्का छोरा भने अचेत अवस्थामा भेटिएको र उपचारका लागि प्रादेशिक अस्पताल, लहानमा भर्ना गरिएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय लहानका प्रमुख तथा प्रहरी नायब उपरीक्षक कैलाश राईका अनुसार प्रारम्भिक अनुसन्धानबाट रञ्जिताले आफ्ना दुई छोरालाई विष सेवन गराई आफूले आत्महत्या गरेको आशंका छ ।

उनले भने, ‘शवको अवस्था हेर्दा विष सेवनपछि रञ्जिताले आत्महत्या गरेजस्तो देखिन्छ, यद्यपि थप अनुसन्धान र परीक्षणपछि मात्रै घटनाको यथार्थ स्पष्ट हुनेछ ।’

स्थानीय बासिन्दाका अनुसार केही दिनदेखि उक्त घरमा चहलपहल नदेखिएपछि खुला रहेको झ्यालबाट भित्र हेर्दा रञ्जिता झुन्डिएको अवस्थामा देखिएपछि प्रहरीलाई खबर गरिएको थियो ।

मृतक रञ्जिताको श्रीमान् प्रवीण भने पछिल्ला तीन÷चार दिनदेखि डेरामा नदेखिएका स्थानीयको भनाइ छ । उनी हालसम्म सम्पर्कमा नआएको प्रहरीले जनाएको छ ।

लहान १२ का वडाध्यक्ष बद्रीनारायण चौधरीका अनुसार प्रवीण र रञ्जिता विगत दुई वर्षदेखि लहान बजारमा डेरामा बस्दै आएका थिए । प्रवीणले दैनिक मजदुरी गर्दै आएका थिए ।

शवबाट दुर्गन्ध आउन थालेकाले घटना केही दिनअघि घटेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।

सम्बन्धित समाचार