पहिरोले घरमा पूर्ण क्षतिः एक जना घाइते हुँदा १३ पशु मरे

0 Shares

बैतडी । वर्षासँगै खसेको पहिरोले बैतडीको सुर्नया गाउँपालिका-२ चौपातामा एक घर पुरिएको छ । आइतबार अपराह्न घरमाथिबाट खसेको पहिरोले स्थानीय गिरिस चन्दको दुई तले १२ कोठे घर पुरिएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी निरीक्षक बलराम पाण्डेयले घर पुरिँदा ९० वर्षीया गोदावरी चन्द गम्भीर घाइते भएको जानकारी दिए । घरभित्र पुरिएकी उनको उद्धार गरी जिल्ला अस्पताल ल्याइएकामा उपचार हुन नसकेपछि थप उपचारका लागि डडेल्धुरा ‘रेफर’ गरिएको प्रवक्ता पाण्डेयले जानकारी दिए ।

पहिराले घरको गोठमा रहेका १३ पशुसमेत पुरिएर मरेका छन् । चार गाई, एक गोरु, पाँच बाख्रा र तीन खसी पुरिएर मरेका हुन् । यसका साथै घरभित्र रहेका अन्य धनमाल, अन्नपात र लत्ताकपडा पनि पुरिएका प्रहरीले जनाएको छ ।

घरमा अन्य मान्छे नभएकाले थप मानवीय क्षति नभएको र लगातारको वर्षाले पहिरो र ढुङ्गा खसिरहेकाले उद्धारमा समस्या भएको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार