काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी चिनफिङसँग नेपालको लिपुलेक मार्फत चीन र भारतले ब्यापारिक मार्ग खोल्ने सम्झौताको विषय उठाएका छन् । ओलीले शनिबार तियानजिनस्थित तियानजिन अतिथि गृहमा द्विपक्षीय भेटवार्ता उक्त कुरा उठाएका हुन् ।
चिनियाँ राष्ट्रपति सीको औपचारिक निमन्त्रणामा साङ्घाई सहयोग सङ्गठन (एससिओ) को २५ औँ शिखर सम्मेलन र फासीवादविरुद्धको विश्वयुद्ध र जापानी उपनिवेशविरुद्ध चिनियाँ जनताको विजयको ८० औँ वार्षिकोत्सवमा भाग लिन चीन गएका बेला उक्त विषयले प्रवेश पाएको हो । भेटका अवसरमा दुई देशबिचको मित्रवत् सम्बन्ध र सहकार्यका विविध क्षेत्रमा कुराकानी भई आगामी दिनहरूमा सम्बन्ध र सहकार्य अभिवृद्धि गर्न दुवै देशका संयन्त्र अग्रसर हुने समझदारी भएको छ । नेपाली भूमि लिपुलेकलाई व्यापारिक मार्ग बनाउने विषयमा चीन र भारतबिच भएको समझदारीका विषयमा राष्ट्रपति सीसँग प्रधानमन्त्री ओलीले स्पष्ट रूपमा आपत्ति रहेको कुरा राखेको परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईले जानकारी दिए ।
“सन् १८१६ को सुगौली सन्धिबमोजिम महाकालीपूर्वका सबै भूभाग सार्वभौम मुलुक नेपालको भएको स्पष्ट रहेको छ । यस मामिलामा चीनले नेपाललाई सहयोग गर्ने विश्वास नेपालले लिएको छ,” प्रधानमन्त्री ओलीको भनाइ उद्धृत गर्दै सचिव राईले भने ।
नेपालको उक्त भनाइको जवाफमा राष्ट्रपति सीले नेपालको अडानप्रति आफ्नो फरकमत नरहेको र सोबारे नेपाल र भारतबिचको छलफलबाट निष्कर्ष निस्कियोस् भन्ने चाहना राखेको परराष्ट्र सचिव राईले जानकारी दिए । प्रधानमन्त्री ओली अडानका साथ नेपालको भूमी चीन र भारतले प्रयोग गरेको विषय उठाएपछि उनको उचाई बढ्ने देखिएको छ । यसअघि प्रधानमन्त्री हुँदा लिपुलेक, कालापानी क्षेत्र समेट्ने गरी चुच्चे नक्सा प्रकाशित गरेको विषयले सार्थकता पाउने अवस्था बन्ने देखिएको छ ।
चीन भ्रमण लगत्तै ओली आगामी भदौ अन्तिम साता भारत जाने तयारी गरेका छन् । भारतीय विदेश सचिव विक्रम मिश्रि गत भदौ १ गते नेपाल आएर ओलीलाई भारत भ्रमणको निम्तो दिइ सकेका छन् ।
भारती विदेश सचिव मिश्रिको नेपाल आएपछि ओलीले भारत भ्रमणमा जाने गृहकार्यमा लागेका हुन् । ओलीले नेपालको हितमा लिपुलेक सम्झौता उठाएपछि भारत चिढिदा भ्रमण नहुने हो कि भन्ने आकलन गर्न थालिएको छ । उता भारतले ओलीलाई भ्रमणको निम्तो दिइ सकेकाले तत्काल रोक्दा कुटनीतिक रुपमा राम्रो सन्देश जादैन । अमेरिकाले भारतमाथि एकपछि कर बढाउँदा पेलानमा परेका बेला ओलीले चीनमा लिपुलेक सम्झौताको विषय उठाएपछि भारतलाई दबाब परेको छ । यही मौकामा नेपालको तर्फबाट ओलीले अडानका साथ भारतलाई समेत लिपुलेक सम्झौताको विषय उठाएपछि निष्कर्षतिर जाने अवस्था देखिएको कुटनीति क्षेत्रका जानकारहरु बताउँछन् ।
प्रधानमन्त्री ओलीले चीन र भारत दुबै देशलाई लिपुलेक सम्झौताको विषयमा असहमती राखेमा उनको आन्तरिक राजनीतिमा समेत राम्रो हुने देखिएको छ । सरकारमा हुँदा ओलीको छवि ओरालो लागेको अवस्थामा लिपुलेक सम्झौताले माथि उठाउन सक्ने अवस्था छ । यो अवस्थामा जोखिम मोलेरै ओलीले भारतसँग समेत लिपुलेक सम्झौताको विषय उठाउन सक्ने अवस्था देखिएको राजनीतिक विश्लेषकहरु बताउँछन् ।