काठमाडौं । टोलीका पूर्वकप्तान रोहित शर्माको शतकका बाबजुद चेन्नई सुपर किंग्ससँग मुम्बई इण्डियन्स २० रनले पराजित भएको छ ।
इण्डियन प्रिमियर लिग (आईपीएल)को गएराति सम्पन्न खेलमा चेन्नईले २०७ रनको लक्ष्य प्रस्तुत गरेको थियो । लक्ष्य पछ्याउने क्रममा मुम्बईले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १८६ रन बनाएको हो ।
शर्माले नटआउट १०५ रन बनाए । तर, अन्य ब्याटरले साथ नदिँदा टोली आफ्नै घरेलु मैदानमा पराजित बन्न पुगेको हो । उनले ६३ बलमा ११ चौका र ५ छक्का प्रहार गरे ।
यस्तै, तिलक वर्माले २० बलमा ३१ रन तथा विकेटकिपर ईशान किसनले १५ बलमा २३ रन बनाउनुबाहेक अन्य खेलाडीले ठूलो योगदान बनाएनन् । प्लेयर अफ द म्याच मथिसा पथिरानाले घातक बलिङ गर्दै मुम्बईको इनिङ्स ध्वस्त पारेका थिए । उनले ४ ओभरमा २८ रन खर्चेर ४ विकेट लिए । तुसार देशपाण्डे र मुस्तफिजुर रहमानले १–१ विकेट लिए ।
पहिले ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा २०६ रन बनायो । टोलीका लागि कप्तान रुतुराज गैकवाडले सर्वाधिक ६९ रन बनाए । त्यस्तै शिवम दुवेले ३८ बलमा ६६ रनको शानदार इनिङ्स खेले ।
रचिन रवीन्द्रले २१ रन तथा डेर्यल मिचेलले १७ रन बनाए । खेलको अन्त्यतिर पूर्वकप्तान महेन्द्र सिंह धोनीले ४ बलमा २० रन बनाए ।
बलिङतर्फ मुम्बईका लागि कप्तान हार्दिक पाण्ड्याले २ तथा जेराल्ड कोट्जी र श्रेयस गोपालले १–१ विकेट लिए ।