काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथाको नाम अङ्ग्रेजीमा पनि ‘SAGARAMATHA’ नै राख्न सरोकारवाला विज्ञहरुले सुझाव दिएका छन् । सगरमाथालाई अङ्ग्रेजीमा ‘माउन्ट एभरेष्ट’ उल्लेख गर्ने गरिएकोप्रति विज्ञहरुले यस्ताे सुझाव दिएका हुन् ।
इतिहास शिरोमणि बाबुराम आचार्य स्मृति प्रतिष्ठानले आज आयोजना गरेको सञ्चारकर्मीसँगको अन्तरक्रियामा उनीहरुले नेपालका अन्य हिमालको नाम नेपालीकरण मात्र रहेको जस्तै सगरमाथाको नाम पनि एउटै हुनु पर्ने तर्क गरेका हुन् ।
कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष एवं इतिहासविद् प्रा.डा. त्रिरत्न मानन्धरले इतिहास शिरोमणि आचार्यले सगरमाथाको नाम चिनाएको ऐतिहासिक तथ्यबारे जानकारी गराए । इतिहास शिरोमणि आचार्यले सर्वप्रथम विं.सं. १९९५ मा लेखमार्फत सर्वोच्च शिखरको नाम सगरमाथा हो भनी उल्लेख गरे ।
प्रा.डा. मानन्धरले भने, “सगरमाथाको नाम अङ्ग्रेजीमा पनि सगरमाथा नै उल्लेख गर्दा सुरुमा केही अफ्ठ्यारो हुने अवस्था आएमा सगरमाथासँगै कोष्ठभित्र ‘माउन्ट एभरेष्ट’ राख्न सकिन्छ तर मौलिक नाम सगरमाथा भने छुटाउनु हुँदैन ।”
कार्यक्रममा प्रा. सुरेन्द्र केसीले राष्ट्रियताअनुसार शाब्दिक फेरबदल हुने गरेको बताए । साथै उनले यस्तो फेरबदल गर्दा शुद्धता र सही सूचना पनि आवश्यक पर्ने बारेमा जानकारी गराए ।
यसैगरी, प्रतिष्ठानका महासचिव बाबुराम आचार्य, कोषाध्यक्ष कञ्चन शर्मालगायतले इतिहास शिरोमणि आचार्यले नेपालको इतिहास र सगरमाथाको मौलिक पहिचानमा गरेको योगदानबारे चर्चा गरेका थिए । *यसअघि तस्बिर परिवर्तन गरिएको छ, स।