काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपाका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’लाई भेट्न उनको निवासमा पुगेका छन् । विप्लव निवास हरिसिद्धिमा अध्यक्ष प्रचण्ड पुगेको नेकपा एक नेताले जानकारी दिए ।
महासचिव चन्दले प्रचण्डलाई फूल दिएर घरमा स्वागत गरेका थिए । दुई नेताबीच पार्टी एकताको विषयमा छलफल हुने बताइएको छ । माओवादीको स्थायी कमिटी बैठकले नेकपासँग एकता गर्ने निर्णय गरेको थियो । तर, एकताका लागि कार्यदल गठन हुन सकेको छैन ।
नेकपाले भने भदौ २२ गते बस्ने पार्टीको केन्द्रीय समिति बैठकले एकताबारे निर्णय गर्ने तयारी गरेको छ । त्यस्तै, आजको भेटमा पछिल्लो राजनीतिक गतिरोधबारे पनि छलफल हुनेछ ।
बैठक बस्नुअघि प्रचण्ड विप्लवबीच भेटले एकतालाई सार्थकता दिने अपेक्षा लिएको छ । नेकपाले यसअघि पार्टी एकता गर्ने निर्णय गरेको थियो । माओवादीले एकता गर्न तत्परता नदेखाएपछि सहकार्य मात्रै गर्ने नेकपाले नीति लिएको थियो । अब बस्ने नेकपा बैठकले एकता गर्ने निर्णय गर्ने नेताहरुले बताएका छन् ।