काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको छ । जसका कारण सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशलगायत देशका पहाडी भागमा आंशिक बदली तथा बाँकी भागको मौसम मुख्यतया सफा रहेको छ ।
आज दिउँसो देशभर साधारणतया बदली रहने छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरू, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा हल्का वर्षा साथै बागमती प्रदेशको थोरै स्थानहरू तथा बाँकी भागको एक दुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ ।
गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भागका केही स्थानहरूका साथै बाँकी उच्च पहाडी तथा हिमाली भागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ ।
राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थानहरू, लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानहरू तथा बाँकी पहाडी भागको एक दुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ ।
देशका उच्च पहाडी तथा हिमाली भागका थोरै स्थानहरूका हल्का हिमपातको सम्भावना रहेको छ ।