एकीकृत समाजवादी एकता बारे एजेन्डा बनाएर बैठकमा छलफल गर्दै

0 Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादी भित्र वामपन्थी ध्रुवीकरणका विषयमा बहस हुन थालेको छ । आफ्नै पार्टी बलियो बनाउन नसक्ने अवस्थामा पुगेपछि नेकपा एमाले वा माओवादी केन्द्र कुनसँग मिलेर जाने भन्ने विषयमा छलफल हुन लागेको हो ।

एकीकृत समाजवादीले समसामयिक राजनीतिक विषयसँगै वामपन्थी ध्रुवीकरणका विषयमा स्थायी समिति पोटिलब्यूरो र केन्द्रीय समिति बैठक बोलाएर छलफल गर्न लागेको पार्टी नेता मेटमणि चौधरीले जानकारी दिए । समाजवादीले आगामी भदौ २७ र २८ गते केन्द्रीय समिति त्यो भन्दा अघि भदौ २५ गते स्थायी समिति त्यसपछि २६ गते पोलिटब्युरो बैठक बोलाएर छलफल गर्न लागेको छ ।

पार्टीका सबै कमिटीका बैठकले पार्टी एकता सहित अन्य विषयमा महत्त्वपूर्ण निर्णय लिने नेताहरूले बताएका छन् । ‘अहिले तत्काल कुनै पार्टीसँग एकता गरेर जाने भन्दा तालमेल र सहकार्य गरेर जाँदा राम्रो हुन्छ’ उनले भने, ‘विचार, भावना, मन मिल्दै गएका एकता गरेर एउटै पार्टीमा जाने हुन सक्छ । हतारमा एकता गरेर पछि फुट्दा राम्रो हुँदैन ।’ अब एकता गर्दा दीर्घकालीन हुने गरी जानुपर्ने चौधरीको भनाई छ ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबिच पार्टी एकताका विषयमा बारम्बार छलफल हुन थालेपछि विषय बाहिर आएको हो । अध्यक्ष नेपाललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काभ्रेको पतञ्जलिको जग्गा खरिद प्रकरणमा मुद्दा लगाएपछि अप्ठ्यारोमा परेका थिए । पार्टीकै सम्मानित नेता झलनाथ खनालले अध्यक्षबाटै राजीनामा दिन दबाब बढाएपछि नेपाल एकता गरेर जोगिने दाउमा लागेका थिए । उता प्रचण्डमाथि पार्टीकै उपमहासचिव जनार्दन शर्माले दबाब बढाएपछि दुई नेता एकता गर्ने विषयमा छलफल अघि बढाएका थिए ।

पार्टीमा अप्ठ्यारोमा परेका प्रचण्ड माधव एकतामा पुग्ने विषयले सजिलै सार्थकता पाउने अवस्था देखिएको छैन । खनाल पक्षका नेताहरू सहित अधिकांश एकता नै गरेर जाने भएमा एमालेसँगै जानुपर्ने पक्षमा छन् । तर, नेपाल पक्षका नेताहरू एमालेमा कुनै हालतमा जान नहुने अडानमा छन् । एकीकृत समाजवादीको मनोविज्ञान बुझ्दा एकता गर्ने अवस्था भएमा अधिकांश नेता कार्यकर्ता एमालेमै फर्किने अवस्था देखिएको छ । माओवादीले एकीकृत समाजवादीसँग एकता गरेमा भने कार्यकर्ता र जनमत बढ्ने भन्दा नेता धेरै हुँदा व्यवस्थापन गर्नै नसक्दा थप समस्या हुन सक्ने अवस्था देखिएको माओवादी नेता कार्यकर्ताको बुझाई छ ।

सम्बन्धित समाचार