काठमाडौं । बाँकेको नेपालगञ्ज उपमहानगरको बसपार्कमा आज प्रहरीले गोली हानेर लागु औषध खैरो हेरोइन कारोबारमा संलग्न चार जनालाई पक्राउ गरेको छ ।
प्रहरीले लागु औषध कारोबारमा संलग्न रहेका दुई जनालाई सुरूमा पक्राउ गरेको र दुई जनाले प्रहरीमाथि ढुंगामुढा गरेर भाग्न खोज्दा उनीहरूमाथि दुई राउड गोली चलाइएको जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी उपरीक्षक रामबहादुर घर्तीले जानकारी दिए ।
‘लागु औषधको कारोबार भइरहेको भन्ने सूचनाका आधारमा दुई जनालाई पिछा गरिरहेका थियौँ, तर त्यहाँ चार जना रहेछन्,’ उनले भने ।
दुई जनालाई प्रहरीले पक्राउ गरेपछि दुई जनाले प्रहरीमाथि ढुंगामुढा गरेर भाग्न खोजेपछि बाध्य भएर प्रहरीले गोली चलाएको प्रहरी उपरीक्षक घर्तीले बताए ।
प्रहरीले नेपागञ्ज उपमहानगर ५ का २२ वर्षीय अमन साह, सोही ठाउँ बस्ने २६ वर्षीय भाइजन अन्सारी, भारतको बहराइज रूपैडियाका २० वर्षीय अजय कुमार र २० वर्षीय कात्तिक कुमारलाई पक्राउ गरिएको छ ।
उनीहरूमध्ये कात्तिक कुमारको खुट्टामा गोली लागेको प्रहरीले जनाएको छ । उनको दायाँ खुट्टामा गोली लागेको छ । लागु औषध कारोबारीले प्रहार गरेको इट्टा लागेर एक जना प्रहरीसमेत घाइते भएका छन् ।
उनलाई उपचारका लागि स्थानीय अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय, बाँकेले जनाएको छ । उनीहरूसँगबाट प्रहरीले लागु औषध बरामद गरेको छ ।