एकै वर्ष सुनको मूल्यमा भारी वृद्धि, कुन महिनामा कति बढ्यो ?

0 Shares

काठमाडौं । यो वर्ष नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । वर्षको अन्तिम दिन चैत ३० गते नेपाली बजारमा छापावाल सुनको मूल्य एक लाख ३९ हजार रुपैयाँको रेकर्ड कायम गर्न पुग्यो ।

एक वर्षको अवधिमा नेपाली बजारमा सुनको मूल्य तोलामा ३३ हजार तीन सय रुपैयाँले बढेको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दै गएपछि त्यसको प्रभाव स्थानीय बजारमा पर्न गएकोे हो । चालुु आर्थिक वर्षको सुरुवातदेखि निरन्तर बढ्दै गएको छ ।

केन्द्रीय बैङ्कहरूले सुनको मौज्दात बढाएका कारण सुनको मूल्य बढ्न गएको हो । डलरको सट्टा लगानीकर्ताले सुनको लगानी बढाउँदै जानु, रुस–युक्रेनको युद्ध, भारत र चीनले सुनको खरिद बढाएको, अमेरिका र चीनको व्यापारिक गतिविधिलगायतका कारणले सुनको मूल्य बढ्दै गएको छ ।

राष्ट्रिय–अन्तर्राष्ट्रिय परिवेशमा मूल्य लगातार बढ्दै गएपछि आगामी दिनमा सुनको मूल्य एक लाख पचास हजारसम्म पुग्ने अनुमान विज्ञहरूको रहेको छ । सुनको मूल्य बढ्दै गएपछि गत फागुुन महिनादेखि बैङ्कले सुनको आयात गर्न छाडेका छन् ।

नेपला सुन चाँदी व्यवसायी महासङ्घका अनुुसार सुनको मूल्य लगातार बढ्दै गएर चालु आवको चैत महिनामा प्रतितोला एक लाख ३९ हजार रुपैयाँ पुगेको छ । गत वर्षको सो अवधिमा प्रतितोला एक लाख पाँच हजार सात सय रुपैयाँमा कारोबार भएको थियो ।

चालु आर्थिक वर्षको पहिलो महिना साउनमा प्रतितोला एक लाख १० हजार चार सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य भदौ महिनामा बढेर एक लाख १३ हजारमा कारोबार भएको थियो ।

यस्तै असोजमा घटेर एक लाख नौ हजार छ सय रुपैयाँमा कारोबार भएको थियो । कात्तिक महिनामा सुनको मूल्य पुनः बढेर एक लाख १६ हजार, मङ्सिरमा एक लाख १९ हजार, पुसमा सुनको मूल्य बढेर एक लाख २० हजार सात पुगेको थियो ।

माघमा सामान्य घटेर एक लाख १८ हजार तीन सयमा कारोबार भएको थियो । फागुनमा बढेर तोलामा एक लाख २५ हजार पुगेको थियो । फागुन महिनादेखि निरन्तर उकालो लागेको सुनको मूल्यले चैत महिनाको अन्त्यमा एक लाख ३९ हजार रुपैयाँमा कारोबार भएको हो । एक महिनाको अवधिमा सुनको मूल्य तोलामा १९ हजार बढेको हो ।

सम्बन्धित समाचार