0
Shares
काठमाडौं । विशेष अदालतले भ्रष्टाचारका दुई मुद्दामा दोषी ठहर भएसँगै सर्लाहीको बागमती नगरपालिकाका निलम्बित मेयर भरत थापालाई आठ वर्ष कैद र १० करोड रुपैयाँ जरिवाना तोकेको छ ।
विशेषका अध्यक्ष टेकनारायण कुँवर, मुरारीबाबु श्रेष्ठ र विदुर कोइरालाको इजलासले मेयर थापासहित विमल कुमार पोखरेल र सागर पौडेललाई जनही आठ वर्ष कैद र १० करोड ९ लाख ७८ हजार २९९ रुपैयाँ जरिवाना तिर्न आदेश दिएको हो ।
पोखरेल तत्कालीन प्रमुख प्रशासकीय अधिकृत हुन् । पौडेल नगरपालिकाका योजना शाखा प्रमुख तथा इन्जिनियर थिए ।
थापाविरुद्ध गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको भनी २७ चैत २०८० मा र हानी–नोक्सानी गरेको अभियोगमा २९ जेठ ०८१ मा दुई मुद्दा दायर भएका थिए । उनका साथै पोखरेल र पौडेलले ३० करोड २९ लाख रुपैयाँभन्दा बढीको नदीजन्य पदार्थको नोक्सानी गरेको ठहर भएको छ ।
