काठमाडौं । भोजपुरमा बाँदरको आतङ्क जिल्लाका किसानको प्रमुख समस्या नै बनेको छ। वर्षभरि खाने अन्नपात बाँदरले छिनभरमा नै सखाप पार्ने भएपछि किसानको मुख्य समस्या बाँदर बनेको हो।
बाँदरका कारण जिल्लाका अधिकांश भागका स्थानीयले समस्या भोग्दै आएका छन्। बाँदरको उपद्रो बढेपछि तल्लो भेग तथा वनजङ्गल आसपास बस्तीका किसान समस्यामा परेका हुन्। मकै पाक्ने समय भएकाले बाँदर खेतबारीमा पसेर अन्नबाली नष्ट पारेपछि किसान हैरान भएका छन्।
बास्तिम, दलगाउँ, मानेभञ्याङ, खावा, कोट, गोगने, लेखर्क, बोखिम धोद्लेखानीलगायत यहाँका नौवटै स्थानीय तहमा बाँदरले दुःख दिने गरेको छ। बस्ती खाली भएपछि माथिल्लो भेगसम्म बाँदर आउन थालेका स्थानीयवासीको भनाइ छ।
बाँदर नियन्त्रणका लागि सरकारले उचित विकल्पको खोजी गर्नुपर्ने रामप्रसादराई–६ का स्थानीय राजेन्द्र राईले बताए। बाँदरको आतङ्क यसरी नै बढ्दै जाने हो भने बस्ती नै खाली हुने उनको भनाइ छ। “हामी किसानको प्रमुख समस्या नै बाँदर बनेको छ”, उनले भने, “वर्षभरि दुःख गरेर उत्पादन गरेको कमाई छिनभरमा सखाप पार्ने भएकाले गाउँघरमा बस्न सक्ने अवस्था छैन। बाँदरका कारण बर्सेनि बस्ती खाली हुँदै गएको छ।”