चितवन। नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारमा जाने विषय आफूहरूको प्राथमिकतामा नरहेको बताएका छन्।
पत्रकारसँग कुराकानी गर्दै उनले सरकारले गरेका कामको विरोध गर्दा माओवादीलाई सरकार चाहिएको जसरी अथ्र्याउन खोजिएको भन्दै अहिले सरकारमा जाने कुनै सोच नरहेको उनको भनाइ थियो।
सरकार परिवर्तनका विषयमा सोधिएको प्रश्नमा अध्यक्ष प्रचण्डले भने, ‘यो सरकारले राम्रो काम गरिरहेको छैन, त्यस विषयमा कुरा उठाउँदा सरकार चाहिएको जसरी बुझ्नु हुँदैन, हामीलाई सरकार चाहिएको छैन, त्यस विषयमा हामीले कुनै चासो राखेका छैनौँ।’
माओवादी केन्द्रले भदौ तेस्रो साताबाट विगतमा स्थगन भएको अभियानलाई पुनः सुरु गर्ने र त्यसपछि केन्द्रीय समितिको बैठक बसेर नयाँ एजेण्डासहित अघि बढ्ने उनको भनाइ थियो।
हालै, सम्पन्न स्थायी समिति बैठकबाट पार्टी एकताबद्ध भएको भन्दै उनले बैठकले गरेका निर्णय कार्यान्वयनमा आउने बताए।