काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने जेलमा हुँदा पार्टीको क्रेज बढेको विश्लेषण हुन थालेको छ । सहकारी ठगीको आरोपमा सत्ता पक्ष दलका नेताहरू फुकाफाल हिँडिरहेको अवस्थामा रविलाई राज्यले षड्यन्त्र गरेर जेलमा राखेको भन्दै सर्वसाधारणको झुकाव बढेको हो ।
सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेका नेताहरू सहकारी ठगीको आरोपमा अदालतको आदेशअनुसार धरौटी बुझाएर बाहिरिएका छन् । यता, लामिछानेलाई धरौटी बुझाएर बाहिर बस्नसमेत रोक लगाइएको छ । आफ्नो पार्टी सभापति लामिछानेलाई सरकारले षड्यन्त्र गरेको भन्दै रास्वपाले देशभर हस्ताक्षर अभियानसँगै चन्दा संकलन गर्दै आएको छ।
लामिछानेले कारागारबाहिर बसेर मुद्दा लड्न पाउनुपर्ने जिकीर गर्दै रास्वपाले रुपन्देही जिल्ला अदालतलाई साउन २३ गते ३२ लाख ६ हजारभन्दा बढी हस्ताक्षर संकलनसहित निवेदन दिएको उल्लेख छ। हस्ताक्षर अभियानमा ६२ लाख १६ हजार ६६९ रुपैयाँ संकलन भएको रास्वपाले जानकारी दिएको छ ।
रास्वपाले गत असार ७ गतेदेखि सभापति लामिछानेविरुद्ध राज्यको तहबाट राजनीतिक प्रतिशोध साँधिएको भन्दै हस्ताक्षर अभियान सञ्चालन गरिएको थियो । संगठित सहकारी ठगी प्रकरणमा उनी भैरहवास्थित कारागारमा पुर्पक्षका लागि थुनामा छन् ।
सरकारलाई दबाब दिन रास्वपाले लामिछानेको पक्षमा हस्ताक्षर अभियान सञ्चालन गरिरहँदा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई भैरहवास्थित कारागार पुगेका थिए । उनी लामिछानेसँग भेट गर्नका लागि भैरहवा जेलमा गएका हुन् । लामिछानेसँग जेलमा भेट गरी पूर्वप्रधानमन्त्री डा. भट्टराईले जेलमा मानवीय व्यवहार नभएको आरोप लगाएका थिए ।
शनिबार जनैपूर्णिमा र रक्षाबन्दनको अवसरमा रास्वपाको पार्टी कार्यालयमा सभापति लामिछानेको ‘कट आउट’ बुख्याचा बनाएर राखी बाँध्ने कार्यक्रम आयोजना गरिएको थियो । यस क्रममा उनको बुख्याचामा चुम्मा गरेर रुनेको लर्को लागेको थियो । सार्वजनिक भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि उनको पक्षमा थप आवाज बलियो बन्दै गएको छ ।
गत शुक्रबार सञ्चार माध्याममा लामिछाने बस्ने कोठाको झ्यालमा समेत प्लाई ठोकेर राखिएको समाचार बाहिरिएपछि सरकारविरुद्ध थप आलोचना बढेको थियो । यो समाचार बाहिरिएसँगै लामिछानेको पक्षमा प्रभावकारी सहानुभूति बढेको सामाजिक सञ्जालमा स्पष्ट देखिन्थ्यो । योसँगै प्रहरीका कार्यालय रुपन्देहीले लामिछानेलाई विशिष्ट सुविधा दिएर राखेको भन्दै विज्ञप्ति जारी गरेको थियो ।
सहकारी ठगीमा रास्वपा सभापति लामिछानेको जेल बसाईले पार्टीमा फाइदा हुँदै गएको छ । उनको पक्षमा थप माहोल बन्दै गएको छ । जसले आगामी २०८४ मा हुने निर्वाचनमा प्रत्यक्ष फाइदा पुग्ने देखिन्छ । पार्टी सभापतिलाई जेलमा राखिरहँदा त्यसको फाइदा पार्टीलाई हुँदा रास्वपा नेताहरूलाई राजनीतिक लाभ राम्रो मिलेको बताउँछन् ।
यता, राजनीतिक विश्लेषक शंकर तिवारीले नयाँ भनिएका रास्वपालगायत दल वास्तविक जनतामा भन्दा सामाजिक सञ्जालमा बढी देखिने गरेको टिप्पणी गगर्छन् ।
‘रास्वपा संगठन र जनतामा त्यति देखिँदैन जति सामाजिक सञ्जालमा देखिन्छ, यस्ता पार्टीको मूल्यांकन गनै कठिन छ,’ उनले भने, ‘तर, रविले आफूलाई निरन्तर चर्चामा राख्न सफल भएका छन्, त्यो उनको प्लस पोइन्ट हो, जनमत घट्यो कि बढ्यो रिसर्च वा चुनाव नभएर भन्न सक्ने अवस्था छैन ।’