काठमाडौं । कर्णाली विकास बैंकको सवा तीन अर्ब रुपैयाँ घोटाला प्रकरणमा पक्राउ परेका नेपाल राष्ट्र बैंकका पूर्वकर्मचारी भुवन बस्नेत धरौटीमा रिहा भएका छन् ।
राष्ट्र बैंकका पूर्वकर्मचारी बस्नेतलाई दुई लाख धरौटीमा रिहा गर्न आदेश भएसँगै उनी धरौटी बुझाएर रिहा भएका हुन् ।
यसबाहेक बैंकका तत्कालीन अध्यक्ष दयाल मिश्र, वित्त प्रमुख देवप्रकाश सिंह ठकुरी र बैंकका संस्थापक अध्यक्ष राजेन्द्रवीर राय पूर्पक्षका लागि जेल चलान भएका छन् ।
उच्च अदालत तुलसीपुरको नेपालगञ्ज इजलासका न्यायाधीशद्वय चन्द्रबहादुर सारु र पुनम सिंह चन्दको इजलासले उनीहरूलाई पुर्पक्षका लागि कारागार चलानको आदेश दिएको हो ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले बैंकको सवा तीन अर्ब घोटालामा उनीहरुलाई पक्राउ गरेर अनुसन्धान गरेको थियो । सवा तीन अर्ब घोटाला प्रकरणमा तीन जना मृतकसहित १११ जनाविरुद्ध मुद्दा चलाउन सिफारिस भएको छ ।
सरकारी वकिल कार्यालयले भने १०९ जनाविरुद्ध मुद्दा चलाएको थियो । बैंक सञ्चालक समिति अध्यक्ष डा. ओमप्रकाश मिश्रको संयोजकत्वमा गठित विशेष छानबिन समितिले ठूलो रकम घोटाला भएको निष्कर्ष निकालेको थियो ।