आगलागीमा परी सैनिकहरूको मृत्यु भएसँगै फेरि तीन बालक गम्भीर घाइते

0 Shares

काठमाडौं । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका ४ स्थित सुँ सामूदायिक वनमा आगलागीमा परी तीन बालबालिका गम्भीर घाइते भएका छन् ।

गाउँ नजिकैको वनमा लागेको आगलागीमा परेर बिहीबार एउटै घरका दाजुभाइसहित तीन बालबालिका घाइते भएका हुन् । घाइते हुनेमा कक्षा ४ मा पढ्ने १२ वर्षीय विवस बुढा, १३ वर्षीय समन्त बुढा र १० वर्षीय सुरज बुढा रहेको प्रमुख जिल्ला अधिकारी तुलसीप्रसाद दाहालले जानकारी दिए ।

दिउँसो वनमा गुच्ची च्याउ टिप्न गएको बेला उनीहरु आगलागीमा परेका थिए । घाइते तीनै जनालाई उपचारका लागि जिल्ला अस्पताल ल्याइएको छ । उनीहरूको डोल्पामा उपचार सम्भव नभएकाले काठमाडौं लैजानु पर्ने जिल्ला अस्पतालले जनाएको छ ।

त्रिपुरासुन्दरी नगरपालिकाले अस्पताल लैजान हेलिकप्टरको व्यवस्थाका लागि पहल गरिरहेको प्रमुख प्रशासकिय अधिकृत जगदीशचन्द्र नेपालीले जानकरी दिए । सुर्खेतबाट उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर खराब मौसमका कारण डोल्पा आउन नसकेको उनले बताए ।

डोल्पामै गत मंगलबार ठूलिभेरी नगरपालिका ४ स्थित मष्टा सामूदायिक वनमा आगो निभाउने क्रममा घाइते भएका चार सैनिकमध्ये तीन जनाको मृत्यु भएको थियो ।

सम्बन्धित समाचार