बहुविवाहलाई वैधता दिने विधेयकको मस्यौदाविरुद्ध आपत्ति

0 Shares

काठमाडौं । राष्ट्रिय महिला आयोगको आयोजनामा आयोजित छलफल कार्यक्रममा सरोकारवाला निकायका प्रतिनिधिले बहुविवाहलाई प्रोत्साहन गर्ने गरी ल्याउन खोजिएको प्रस्तावित विधेयकको मस्यौदाप्रति गम्भीर आपत्ति जनाएका छन् ।

‘लैंगिक न्यायका सवालमा प्रस्तावित विधेयक तथा समसामयिक विषयउपर सरोकारवालासँग छलफल कार्यक्रम’मा बोल्दै राष्ट्रिय मानव अधिकार आयोगकी सदस्य डा. लीली थापाले मस्यौदाबारे गम्भीर बहस र समीक्षा गरेर मात्र अघि बढ्नुपर्नेमा जोड दिए ।

उनले भने, ‘यसले बहुविवाहलाई वैधानिकता दिने, महिलाको कानुनी संरक्षणलाई कमजोर बनाउने सम्भावना देखिएको छ, त्यसैले राम्ररी दफा केलाएर मात्र अगाडि जानुपर्छ ।’

डा. थापाले मानवअधिकार आयोगले मस्यौदाकर्तासँग छलफलका लागि बुधबारका लागि बैठक बोलाएको जानकारी दिइन् ।

त्यस्तै, राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला पराजुलीले मस्यौदा कानुनबारे सामाजिक सञ्जाल तथा मिडियामा बहस भइरहेको बताउँदै भनिन्, ‘द्वन्द्व कालमा यौन हिंसा र जबर्जस्ती करणीका कारण जन्मेका लाखौँ बच्चाहरू आज पनि अनागरिक छन्, राज्यले तिनको नागरिकता, सुरक्षा र अधिकारका विषयमा के सोचिरहेको छ ?’

उनले आफन्तबाट, बाबुबाट, हाडनाता करणी जस्ता गम्भीर घटनाबाट गर्भवती भई बच्चा पाएका किशोरीको जीवनप्रति राज्य गम्भीर हुनुपर्नेमा जोड दिए । पराजुलीका अनुसार राष्ट्रिय महिला आयोगले बहुविवाहसम्बन्धी दफा तथा उपदफाको अध्ययन गरेर सुझाव र सिफारिस दिने तयारी गरिरहेको छ ।

हालको नेपालको मुलुकी अपराध संहिता ऐन लागू भएको दिनदेखि पूर्णतः निषेध रहेको बहुविवाहलाई निश्चित परिस्थितिमा छुट दिने गरी सरकारले कानुन ल्याउन भन्दै सरोकारवालाले विरोध गरेका हुन् ।

सम्बन्धित समाचार