कोरियान भाषा परीक्षामा १५ प्रतिशत मात्रै पास, परीक्षा उत्तीर्ण हुँदैमा ग्यारेन्टी नहुने

0 Shares

काठमाडौं । रोजगार अनुमति प्रणाली (ईपीएस)अन्तर्गत पहिलो चरणमा लिइएको भाषा परीक्षामा छ हजार मात्रै परीक्षार्थी पास भएका छन् ।

सन् २०२४ मा ईपीएसमार्फत उत्पादनतर्फको क्षेत्रमा काम गर्न जानका लागि पहिलो चरणमा सहभागी ४० हजार ५८० जना सहभागी भएकामा छ हजार ३२१ जना अर्थात १५ प्रतिशत मात्रै पास भएको वैदेशिक रोजगार विभागअन्तर्गतको ईपीएस कोरिया शाखाले जनाएको छ ।

यो संख्या तीन चरणको भाषा परीक्षासहित छनोट गरिने १६ हजार चार सयमध्येको हो । बाँकी १० हजार ७९ जना छनोटका लागि भाषा परीक्षा सञ्चालन हुन बाँकी छ ।

गत फागुन पहिलो सातादेखि चैत २४ सम्म ४७ हजार ५१५ जनाका लागि लिइएको पहिलो चरणको भाषा परीक्षामा ४० हजार ५८० जना सहभागी थिए । पहिलो चरणमा भाषा परीक्षा उत्तीर्ण गरेका परीक्षार्थीको दोस्रो चरणको सिप परीक्षण आउँदो वैशाख ९ देखि १५ सम्म सञ्चालन गरिने छ ।

नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान जावलाखेलमा सञ्चालन गरिने सिप परीक्षामा सहभागी परीक्षार्थीले साथमा राहदानी, प्रवेश पत्र अनिवार्य लिएर आउनु पर्ने शाखाले जनाएको छ । शाखाका अनुसार तोकेको मिति, समय र स्थानमा सिप परीक्षामा सहभागी नहुने परीक्षार्थीलाई भाषा परीक्षा उत्तीर्ण भएको रोस्टमबाट हटाइने छ ।

ईपीएस शाखाले कोरियन भाषा परीक्षा उत्तीर्ण हुँदैमा कोरियामा रोजगारीको ग्यारेन्टी नहुने र रोजगारीको छनोट प्रक्रियामा सामेल हुनु रोस्टरमा सूचीकृत हुनु मात्रै भएको जनाएको छ ।

परीक्षाका लागि आवेदन दिने नेपालीको संख्या धेरै भएपछि तीन चरणमा परीक्षा भइरहेको छ । तीन चरणकै परीक्षा सम्पन्न गर्न १० महिना अर्थात् २०८१ साल पुससम्म लाग्ने शाखाकी निर्देशक मैया कँडेलले जानकारी दिइन् ।

एक लाख ६३ हजार ६३५ जनाले आवेदन दिएकामा १६ हजार चार सय छनोट गरेर पठाउने योजना रहेको छ । हाल उत्तीर्ण भएका युवालाई जुन महिनामा हुने रोजगारदाता छनोटका लागि तयार हुन भनिएको छ ।

कोरियाले यो वर्ष नेपालबाट २२ हजारभन्दा बढी युवा लैजाने आश्वासन दिएको छ । कोरियाले थप गर्ने क्षेत्रमा नेपालबाट छिटोछरितो श्रमिक लैजान हाल रोस्टरमा रहेकाको क्षेत्र परिवर्तन गरेर लैजाने योजना बनाएको शाखाले जनाएको छ ।

सम्बन्धित समाचार