राजस्थानको अपराजित यात्रामा पूर्णविराम, गुजरातको रोमाञ्चक जित

0 Shares

काठमाडौं । जारी इण्डियन प्रिमियर लिग (आईपीएल)मा राजस्थान रोयल्सको अपराजित यात्रामा पूर्णविराम लागेको छ । बुधबार राति भएको खेलमा गुजरात टाइटन्सले राजस्थानलाई तीन विकेटले हराएको हो । राजस्थानले दिएको १९७ रनको विशाल लक्ष्य गुजरातले अन्तिम बलमा ३ विकेट गुमाएर भेट्टायो ।

अन्तिम ओभरमा १५ रन चाहिएको अवस्थामा रासिद खानले आवेश खानको पहिलो तीन बलमा १० रन बनाए । चौथो बलमा उनले एक रन लिए भने पाँचौं बलमा ३ रन लिने क्रममा राहुल टेवाटिया रन आउट भए ।

अन्तिम बलमा २ रन चाहिएको अवस्थामा रासिदले चौका प्रहार गरेपछि गुजरातले खेलमा रोमान्चक जित हासिल गरेको हो । गुजरातका लागि कप्तान शुभमन गिलले ४४ बलमा सर्वाधिक ७२ रन बनाए । यस्तै ओपनर साई सुदर्शनले ३५ तथा रासिदले ११ बलमा २४ रन बनाउँदा टेवाटियाले २२ रन जोडे ।

राजस्थानका लागि कुलदीप सेनले ३ तथा युजभेन्द्र चहलले २ विकेट लिए । आवेश खानले १ विकेट लिए । जयपुरमा टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा तीन विकेट मात्र गुमाएर १९६ रन बनायो ।

राजस्थानका लागि रियान परागले सर्वाधिक ७६ रन बनाए । कप्तान सञ्जु स्यामसनले ६८ रन जोडे । त्यस्तै यशसस्वि जैसवालले २४ रन बनाए । गुजरातका लागि उमेश यादव, रासिद र मोहित शर्माले समान एकएक विकेट लिए ।

आईपीएलमा आज लयमा नरहेका मुम्बई इण्डियन्स र रोयल च्यालेन्जर्स बैंग्लुरु भिड्ने छन् ।

सम्बन्धित समाचार