काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काठमाडौं सितापाइलाको सहिद शिक्षक स्मृति केन्द्रमा बहुउद्देश्यीय भवनको उद्घाटन गर्दै निजामति कर्मचारीको ऐनबारे टिप्पणी गरेका छन् ।
प्रचण्डले संघीय निजामति सेवा ऐनमा गरिएको संशोधनलाई पनि राजनीतिक रूपमा जोड्दै ‘कुलिङ पिरियडमा एमालेले अन्ततः म्याउ गर्यो’ भन्दै टिप्पणी गरेका हुन् । उनले एमालेका सांसदले राष्ट्रिय सभामा ल्याएको संशोधन प्रस्तावबाट माओवादी केन्द्रले उठाएको शंका पुष्टि भएको बताए ।
राजनीतिक संकटबारे चर्चा गर्दै प्रचण्डले कांग्रेस र एमाले दुवै पार्टीमा वैचारिक नेतृत्वको खडेरी रहेको दाबी गरे । ‘एमालेभित्र वैचारिक संकट छ, जवजको उत्तराधिकारीको अन्योल छ,’ उनले भने ।
यस्तै, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले मदन भण्डारीसम्बन्धी बोलेका कथित अभिव्यक्तिलाई समेत उनले आलोचना गर्दै वैचारिक दिशाहीनता देखिएको बताए ।