काठमाडौं। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफू पदको महत्वकांक्षा र आशक्ति राखेर पार्टी राजनीतिमा नआएको बताएकी छन्।
नेकपा एमालेले पार्टीको सदस्यसमेत खारेज गरेसँगै शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गर्दै उनले आफू राष्ट्रकै सर्वोच्च पदमा पुगेकाले पदका लागि कुनै आशक्ति नभएको बताएकी हुन्।
उनले भनिन्, ‘कुनै पदप्रति लालसा, महत्त्वकांक्षा र आशक्ति छैन। मैले राष्ट्रकै सर्वोच्च पदमा पुगेर इतिहासमा आफ्नो नाम दर्ज गरिसकेको छु।’ यस क्रममा उनले आफू राजनीतिमा आएर देश र जनताको सेवा गर्नेबारे जानकारी दिएकी थिइन्।
उनले भनिन्, ‘म राष्ट्रपति निर्वाचित भएको र राष्ट्रपतिको जिम्मेवारी पूरा गरेर राजनीतिक दलमा आबद्ध बनेर देश र जनताको सेवा गर्ने संकल्प गर्नु कुनै अनौठो र आश्चर्यजनक विषय होइन, यो संवैधानिक अधिकार मात्रै होइन, पार्टीमा नै राजनीतिमा लगाएर देश र जनताको सेवामा समर्पित हुने निर्णयमा पुगेको हो ।’
यस्तै, उनले आफ्नो पार्टी सदस्य कसैले खारेज गर्न नसक्ने बताएकी छन् । तर, एमालेको बैठकले उनको पार्टी सदस्य खारेज गरिसकेको छ ।