काठमाडौं । वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले खानपानी आयोजना निर्माण गर्न नीतिगत रुपमा सहजीकरण गर्ने बताएका छन् । मन्त्री शाहीले शुक्रबार राष्ट्रिय सहरी खानेपानी उपभोक्ता तथा सरसफाई महासंघका अध्यक्ष खेमराज वलीसँग खानेपानी क्षेत्रमा भएका रुख काटेर आयोजना निर्माण गर्न नीगित रुपमा सहयोग गर्ने आश्वासन दिएका हुन् ।
महासंघका अध्यक्ष वलीले खानेपानी संस्था र आयोजना बनाउँदा रुख कटान नहुँदा समस्या भएको बारेमा मन्त्री शाहीलाई बिफ्रिङ गराएको बताए । ‘मन्त्री शाहीले खानेपानी सस्थाका कुन कुन जिल्लामा कुन कुन आयोजनामा वनका कारण समस्या भएको छ त्यसमा सहजीकरण गर्न तयार छु । त्यसका लागि देशैभरका आयोजना र वनबाट खानेपानी क्षेत्रमा आएका समस्याका बारे लिखित निवेदन दिनुस त्यसमा आफ्नो तर्फबाट पहल गर्न तयार छु भन्नु भएको छ’ मन्त्रीसँग भेटपछि अध्यक्ष वलीले भने, ‘वनकै कारण खानेपानी आयोजना नबन्दा अलपत्र परेको त्यसको सहजीकरण गर्न तयार छु । उपभोक्ताले पानी खानै नपाउने अवस्था हुनुहुँदैन । ’
मन्त्री शाहीले खानेपानी आयोजना निर्माण गर्न वनकै कारण समस्या नहुने जिकिर गरेका थिए । महासंघका अध्यक्ष ओलीले देशैभरका खानेपानी आयोजनाले वनकै कारण कतिपय क्षेत्रमा मुद्दा मामिला पर्नुका साथै काम गर्न गाह्रो भएको मन्त्रीलाई जानकारी गराएका थिए ।
वनकै कारण दाङ अमृतपुर खानेपानी आयोजना लगायत थुप्रै ठाउँमा समस्या देखिएका छन् । मन्त्रीसँगको भेटमा राष्ट्रिय सभा सांसद जगप्रसाद शर्मा‘अपार’ सहित खानेपानी क्षेत्रका प्रतिनिधि सहभागी थिए ।