काठमाडौं । सोमबार राति भारतको उत्तराखण्डस्थित नैनीताल जिल्लाको बेतालघाट सडक दुर्घटनामा परी मृत्यु भएका सातमध्ये ६ जना एउटै वडाका नागरिक भएको खुलेको छ । मृतक ६ जना बाँकेको वैजनाथ गाउँपालिका ८ का बासिन्दा रहेका छन् ।
उक्त सवारी दुर्घटनामा परी मृत्यु हुनेमा वैजनाथ ८ का धीरज थारु, उदयराम थारु, विश्राम थारु, तिलकराम थारु, अन्तराम थारु र विनोद थारु रहेको वैजनाथ गाउँपालिका ८ का वडाध्यक्ष भगन थारुले जानकारी दिए ।
उनका अनुसार कामका सिलसिलामा नैनीताल क्षेत्र पुगेका उनीहरु नजिकिँदै गरेको नयाँ वर्ष मनाउन घर फर्किने क्रममा दुर्घटनामा परेका हुन् । “सबै जना नयाँ वर्ष मनाउन घर आउँदै थिए, बाटोमै दुर्घटनामा परी ६ जनाको ज्यान गयो, दुई जना घाइते भएका छन्”, वडाध्यक्ष थारुले भने ।
मृतकमध्ये कोही ६ महिनाअघि, केही एक वर्षअघि मजदुरीका लागि भारत गएका थिए । मृतकमध्ये तीन जना फत्तेपुर, एक जना रिहारपुर र दुई जना थपुवा गाउँका रहेको वडाध्यक्ष थारुले जानकारी दिए ।
वडाध्यक्ष थारुका अनुसार दुर्घटनामा परी सोही वडाका दशरथ थारु र एक महिला घाइते भएकी छन् । “महिलाको नाम थाहा हुन सकेको छैन”, उनले भने, “घटनाको खबरले पूरै वडाका बासिन्दा शोकमा छन् ।”
उक्त दुर्घटनामा परी मृत्यु भएका अर्का नेपाली मजदुर बर्दियाको बाँसगढी नगरपालिकाका रहेको बताइएको छ । दुर्घटनामा परी सात नेपाली नागरिकसहित जीप चालक भारतीय नागरिकको मृत्यु भएको थियो ।
बेतालघाटस्थित पुलिस थानाका सव–इन्सपेक्टर अनिस अन्सारीले मृतक सबैको शव नैनीताल सरकारी अस्पताल हल्द्धानीमा राखिएको जानकारी दिए । उनीहरु सबै घटना स्थल वरपरको सडक छेउमा खानेपानीको पाइप बिछ्याउने काम गर्दै आएका थिए ।