काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल) को १७ औँ संस्करणअन्तर्गत आइतबारको खेलमा मुम्बई इण्डियन्सले दिल्ली क्यापिटल्सलाई २९ रनले पराजित गरेको छ ।
चौथो खेल खेलेको मुम्बईको यो पहिलो जित हो भने पाँचौँ खेल खेलेको दिल्लीको चौथो हार हो ।
घरेलु मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको मुम्बईले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर २३४ रन बनायो । मुम्बईका लागि ओपनर ब्याट्सम्यान रोहित शर्माले ४९ रनको योगदान गरे ।
टोलीका पूर्व कप्तानसमेत रहेका रोहितले २७ बलमा तीन छक्का र ६ चौका प्रहार गरे । अर्का ओपनर इशान किशनले टोलीको खातामा ४२ रन जोडे । उनले केवल २३ बलमा दुई छक्का र चार चौका प्रहार गरे ।
टिम डेभिडले अविजित ४५ रन बनाउँदा कप्तान हार्दिक पाण्ड्याले ३३ बलमा एक छक्का र तीन चौकाको मद्दतले ३९ रन बनाए । रोमारियो सेफर्डले पनि टोलीका लागि अविजित ३९ रनको योगदान गरे ।
दिल्लीका बलर एनरिच नोर्जे र अक्सर पटेलले दुई दुई विकेट लिए । खलिल अहमदले पनि एक विकेट लिए । जवाफी ब्याटिङमा ओर्लिएको दिल्लीले निर्धारित ओभरमा आठ विकेट गुमाएर २०५ रन मात्र बनायो ।
दिल्लीका लागि दुई ब्याट्सम्यानले अर्धशतक बनाए । तर, टोलीको जितका लागि पर्याप्त हुन सकेन । ओपनर ब्याट्सम्यान पृथ्वी शाले ६६ रन बनाए ।
ट्रिस्टन स्टब्सले टोलीको खातामा ७१ रन थपे । क्रिजमा लामो समय संघर्ष गरेका स्टब्सले लगातार छक्का र चौका हिर्काएका थिए ।
तेस्रो नम्बरका ब्याट्सम्यान अभिषेक पोरेलले पनि ४१ रन बनाउँदा ओपनर डेभिड वार्नर १० रनमै पेभेलियन फर्किए ।
मुम्बईका बलर जेराल्ड कोट्जीले चार विकेट लिए । जसप्रित बुमराहले दुई विकेट हात पारे ।