काठमाडौँ । त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयमा भिजिट भिसा प्रकरणको अनुसन्धान गरिरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महत्त्वपूर्ण प्रमाण फेला पारेको छ। अख्तियारले नियन्त्रणमा लिएका अध्यागमन प्रमुख तथा गृह मन्त्रालयका सहसचिव तीर्थराज भट्टराईको डायरीमा नक्कली कागजात बनाएर भिजिट भिसामार्फत विदेशिनेहरूको नामावली र उनीहरूबाट संकलित मोटो रकमको विवरण भेटिएको अख्तियार स्रोतले जनाएको छ ।
डायरीमा भेटिएका थप विवरण
स्रोतका अनुसार, भट्टराईको डायरीमा भिजिट भिसामा जानेहरूको नामावलीका साथै उनीहरूलाई पठाउने मेन पावर कम्पनी, ट्राभल एजेन्सी र विमानस्थलमा समन्वय गर्ने कर्मचारीको विवरणसमेत उल्लेख छ । अख्तियारले गत जेठ ७ गते अध्यागमन कार्यालयमा छापा मारी भट्टराईलाई नियन्त्रणमा लिएको थियो । त्यसक्रममा आवश्यक कागजात र मोबाइलसमेत जफत गरी अनुसन्धान अघि बढाइएको थियो ।
उच्च अधिकारी र मन्त्रीमाथि प्रश्न
यो प्रकरणमा विगत लामो समयदेखि त्रिभुवन विमानस्थलबाट नक्कली कागजात बनाई भिजिट भिसामा मानिस पठाउने धन्दामा अध्यागमनका कर्मचारीकै संलग्नता देखिएको अख्तियारले जनाएको छ । यस घटनामा गृहमन्त्रालयकै उच्च तहका कर्मचारीदेखि गृहमन्त्री रमेश लेखककै समेत संलग्नता रहेको आरोप लागेको छ । गृहमन्त्री लेखककै सचिवालयमा रहेका कर्मचारी समेत यसअघि भिजिट भिसा प्रकरणमै अनुसन्धानको दायरामा आएका थिए । ती कर्मचारीलाई फेरि आफ्नै सचिवालयमा राखेपछि गृहमन्त्री लेखकमाथि प्रश्न उठेको हो।
सदन अवरोध कायमै
यस प्रकरणलाई लिएर प्रमुख प्रतिपक्षी दलहरूले गृहमन्त्री लेखकको राजीनामा र छानबिन समिति गठनको माग गर्दै सदन अवरोध गर्दै आएका छन् । गत जेठ १३ गतेदेखि सदन अवरुद्ध हुँदै आएकोमा, नेकपा (माओवादी केन्द्र) ले भने सत्तारुढ दलहरूसँग सहमति गरी सदन सुचारु गर्न सहमत भएको छ । यद्यपि, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लगायतका अन्य प्रतिपक्षी दलहरूले भने गृहमन्त्रीको राजीनामाको माग गर्दै संसदमा अवरोध कायमै राखेका छन् ।